न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई सोधियो ७ दिने स्पष्टीकरण

Posted on: 19 Jul, 2022

साउन ३, काठमाडौँ | नेपाल कानून व्यवसायी परिषदले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ ।

उनलाई स्पष्टीकरण सोध्न परिषद्ले गोरखापत्रको मंगलवारको अंकमा सूचना प्रकाशन गरेको छ। पाेखरेलले स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएकाले परिषद्ले सार्वजनिक सूचना प्रकाशित गरेको जनाएको छ । उनलाई सूचना जारी भएको मितिले ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । ‘तपाईं रुद्रप्रसाद पोखरेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङसमेत उपर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा तपाईंलाई कार्बाही हुनु पर्ने हो/होइन ?’सूचनामा भनिएको छ, ‘अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेश गर्नु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ ।’

सिभिल सहकारीका तत्कालीन अध्यक्ष ईच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दामा तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो । घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!