‘चेक बाउन्स’ मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on: 11 May, 2022

वैशाख २८, काठमाडौं | बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनले उनलाई २०७८ चैत २५ गते बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

खड्कीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । 

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!