दुई फरक-फरक हत्याकाण्डका तीन अभियुक्त सार्वजनिक

Posted on: 04 May, 2022

वैशाख २१, इलाम | इलामा यही महिना भएका दुई फरक-फरक हत्याका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । वैशाख १४ गते इलाम नगरपालिका–८ सिङफ्रिङको बेलटारमा स्थानीय ३१ वर्षकी विनीता काफ्लेको हत्यामा संलग्न देवेन्द्र रिमालाई प्रहरीले सार्वजनिक गरेको हो । 

हत्यापछि बिनिताको शव टुक्राटुक्रा पारेर गाडिएको अवस्थामा फेला परेको थियो । रिमालले उनलाई विनीताकै घरमा १४ गते राति १२ बजेतिर सिरानीले मुख थुनेर गला दबाएर हत्या गरेको प्रहरीले बताएको छ । 


‘हत्यापछि अभियुक्तले बिनिताको शव बारीमा लगेर एउटा हात र शिर छेदन गरेर बनतरुल खनेको खाल्डोमा पुगेका रहेछन्’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाा बहादुर थापाले भने, ‘घटना लुकाउन उनले शव पुरेको खाल्डोमाथि अम्लिसोको सिटा र पत्कर भेला पारेर जलाएको देखिन्छ । आलो माटो नदेखियोस् भनेर उनले शव गाडेको खाडलमाथि अम्लिसो सिटा र पत्कर डढाए पनि केही केही ठाउँको आलो माटो यसै देखिएको रहेछ । त्यही आलो माटो देखिएपछि र गन्धा आएपछि स्थानीयले हामीले खबर गरेका हुन् ।’

रिमाले बाख्रा मरेर गाडेको भने पनि खाल्डो उत्खनन गर्दा बिनिताको शव फेला परेको थियो । खाडलमा महिलाको शव भेटिएपछि रिमाल फरार भएका थिए । उनलाई २० गते महभीर सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

बिनिताको हत्यापछि घटना छिपाउन रिमालले अनेक प्रयत्न गरेको प्रहरीले बताएको छ । बिनिताको हत्यापछि शवलाई टुक्राटुक्रा पारेर गाडेपछि रिमालले बिनिताको मोबाइलबाट फेसबुकमा पोस्ट गरेका थिए । हत्याको भोलिपल्ट बिनिताको फेसबुक एकाउन्टबाट ‘आजबाट नयाँ जीवन जीवनको सुरु भयो । मलाई कसैले नखोज्नु है । म सिक्किम जाँदैछु । नानीलाई लान सकिन मलाई माफ गरिदेऊ’ भन्ने स्ट्याटस पोस्ट भएको थियो । 

त्यसपछि विनीताकै मोबाइलबाट उनका दाजु दिनेश कटुवाललाई ‘दाजु मैले बिहे गरे मलाई माफ गरिदेऊ’ भन्ने सन्देश पठाइएको थियो । त्यो म्यासेज पनि घटना लुकाउनकै लागि अभियुक्त रिमालले गरेको प्रहरीले बताएको छ । बहिनीको म्यासेज इमोमा आएपछि झापाबाट दाजुले प्रहरीलाई बहिनी हराएकोले खोजिदिन भन्दै प्रहरीमा हुलिया निवेदन दिएका थिए । त्यसपछि बिनिताको खोजी सुरु भएको थियो ।

यस्तै वैशाख १४ गते इलामको देउमाई नगरपालिका–७ का ४५ वर्षका सन्तोष बाला राईको हत्या भएको थियो । राईको हत्यामा देउमाई नगरपालिका–७ २३ वर्षका भूपेन्द्र राई र उनका सहोदर भाइ २० वर्षको भूपेन्द्र राईको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

मादक पदार्थ सेवनका कारण भएको सामान्य विवादमा राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक ग‌ंगाबहादुर थापाले बताए । ‘मृतक सन्तोष वाला राईले सिद्धिथुम्का स्वास्थ्य चौकीमा कोभिडको बुस्टर डोज लगाएर फर्किने क्रममा मादक पदार्थ सेवन गरेर बाटोमा सुतिरहेको अवस्थामा अभियुक्तहरूले उनलाई बाटोमा भेटेको देखिन्छ’, उनले भने ।

दुई दाजुभाइले मादक पदार्थ सेवन गरेका थिए । 'मृतकलाई हामी पुर्‍याइदिन्छौं भन्दै डोर्‍याउँदै लैजाँदै गर्दा उनीहरूबीच सामान्य विवाद भएछ । त्यसपछि दाजुभाइले उनलाई बाटोमुनि अम्लिसोवारिमा लगेर लात मुक्का र ढुङ्गा प्रहार गरेर हत्या गरेका रहेछन्,’ उनले भने ।

हत्याको भोलिपल्ट अम्लिसोवारिमा शव भेटिएको सूचना प्रहरीलाई प्राप्त भएको हो । ‘मृतक व्यक्ति गएकैतिर दुई दाजुभाइ पनि होहल्ला गर्दै गएको सूचना पायौं तर ती घटना भएको ठाउँमा थिएनन् । उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो,’ उनले भने ।अभियुक्त दाजुभाइलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!