गर्भावस्थामा रोग प्रतिरोध क्षमता बढाउने ९ टिप्स यस्ता छन्

Posted on: 21 Jun, 2020

असार ७, काठमाडौं । गर्भावस्थामा सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ । यो समय एक संवेदनशील समय हो । गर्भवतीमा यतिबेला शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई शारीरिक र मानसिक रुपमा सन्तुलित राख्नुपर्छ।

गर्भवतीको मानसिक स्थितिसँग गर्भमा हुर्कंदै गएको बच्चाको स्वास्थ्यको समेत सोझो सम्बन्ध रहन्छ । गर्भावस्थामा उचित खानपान र सन्तुलित जीवनशैली मात्र होइन सोच चिन्तन पनि सकारात्मक हुन जरुरी छ ।

त्यसै त गर्भावस्था खुसी, उमङ्गित, सकारात्मक एवं चिन्तामुक्त हुनुपर्छ भनिएको हो । गर्भावस्थामा हुनसक्ने सम्भावित जोखिमबाट बच्न वा गर्भको बच्चाको स्वस्थ्य सही राख्नका लागि पनि गर्भवतीले आफ्नो शारीरिक स्वास्थ्य र तन्दुरुस्तीमा जोड दिनुपर्छ।

गर्भावस्थामा संगीत सुन्नु पनि राम्रो मानिन्छ । यसले गर्भवतीलाई अनावश्यक मानसिक तनावबाट मुक्त राख्न मद्दत गर्छ ।मनलाई शान्त र आनन्दित तुल्याउँछ । साथसाथै यस क्षणमा कसरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने कुरामा ख्याल गर्न आवश्यक छ।  अतः गर्भावस्थामा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने  ? जान्नुहोस

नियमित प्राणायाम

यस क्षणमा गहिरो सास लिने, छाड्ने अभ्यास गर्नु उचित हुन्छ । यसले शरीरमा पर्याप्त अक्सिजन प्रवाह हुन पाउँछ । यो आमा र बच्चा दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कुनै पनि समयमा गहिरो सास लिने र छाड्ने अभ्यास गर्न सकिन्छ । सकेसम्म शान्त र हरियाली वातावरणमा बसेर यस्तो अभ्यास गर्न सकिन्छ । त्यसो त घरमै काम गरिरहेको बखत, विश्राम गरिरहेको बखत पनि यो अभ्यास गर्न सकिन्छ ।

घामको न्यानो

यतिबेला बिहानको घाममा शरीरलाई न्यानो बनाउनु उचित हुन्छ । कम्तीमा १० मिनेट भए पनि घामको तापमा बस्नुपर्छ । यसले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । गर्भावस्थामा भिटामिन डी एकदमै आवश्यक हुन्छ ।

ब्रह्ममुहूर्तमा उठ्ने

कतिपयलाई बिहान उठ्न अल्छी लाग्छ । यद्यपि शारीरिक एवं मानसिक स्वास्थ्यका लागि बिहान चाँडै उठ्नु जरुरी छ । अझ सूर्योदयअघि । बिहान ४ बजेदेखि सूर्योदयअघिको समयलाई ब्रह्ममुहूर्त भनिन्छ । यसबेला वायुमण्डलमा शुद्ध वायु चलिरहेको हुन्छ, जसलाई प्राणवायु भनिन्छ। बिहान ४ बजेको आसपासमा उठ्ने र खुला हावामा हिँडडुल गर्ने अभ्यास एकदमै उचित हुन्छ ।

अनुलोम बिलोम

प्राणायामकै एक सरल र उत्कृष्ट विधि हो यो पनि । एउटा नाक बन्द गर्ने, अर्को नाकले गहिरो सास लिने । उक्त नाक बन्द गरेर अर्को नाकले सास छाड्ने । पुनः सास छाडेको नाकले सास लिने । यही क्रिया निरन्तर गर्ने । अनुलोम बिलोम कुनै पनि क्षणमा गर्न सकिन्छ । यस क्रियाले हाम्रो फोक्सोको कार्यक्षमता बढाउँछ ।

मनतातो पानीले नुहाउने

गर्मी मौसम छ । त्यसैले सम्भव भएसम्म दिनदिनै नुहाउनु उचित हुन्छ । मनतातो पानीमा नुन मिसाएर नुहाउनु उत्तम हो । यसबेला शारीरिक सरसफाइमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले नियमित नुहाउनु राम्रो हो ।

मौसमी सागपात र फलफूल

मौसमी खानपानमा जोड दिनुपर्छ । सलाद, सागपात, फलफूल, झोलिलो पदार्थ खानेकुरामा सामेल गर्नुपर्छ । खरबुजाजस्ता फलफूलको सेवनले निकै फाइदा गर्छ । नियमित एक गिलास शुद्ध दूध पिउनु उचित हुन्छ ।

भोक लागेकोभन्दा केही कम खाने

जब भोक लाग्छ पेटभर खानु ठिक हुन्न । समयसमयमा खाइरहनुपर्छ, जसले गर्दा सहजै पच्न सकोस् । जति भोक लागेको छ, त्योभन्दा केही कम खानेकुरा खानुपर्छ । खाना सुपाच्य र पोषिलो हुन जरुरी छ ।

संगीत सुन्ने, मनोरञ्जन गर्ने गर्भावस्थामा सकेसम्म आफूलाई रमाइलो माहोलमा राख्ने प्रयास गरौं । रोमान्टिक गीतहरू सुन्ने, फिल्महरू हेर्ने, पुस्तक पढ्ने गरौं । यसले मनलाई आनन्दित तुल्याउँछ । नकारात्मक भाव आउन दिँदैन । दुःख र भय हटाउँछ।

ध्यानको अभ्यास

ध्यानले मनलाई शान्ति दिन्छ । बेचैनी, तनाव, डर हटाउँछ । ध्यान मुद्रामा बसेर आफ्नो श्वासप्रश्वास प्रक्रियामा ध्यान केन्द्रित गर्ने । दैनिक १०–१५ मिनेट भए पनि ध्यानको अभ्यास गर्न सकिन्छ ।

सक्रिय रहने

गर्भावस्थामा हल्का काम गरेर भए पनि शरीरलाई सक्रिय राख्ने । भारी काम गर्न उचित हुँदैन । यद्यपि सामान्य कामहरू गरेर शरीरलाई फूर्तिलो राख्न सकिन्छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!