एउटीलाई धोका दिने केटाले अर्कीलाई धोका दिने सम्भावना कति हुन्छ ? जान्नुहोस्

Posted on: 04 May, 2019

अहिले म २४ वर्षकी भएँ । मेरो विवाह भएको छैन, तर मेरो ब्वाइफ्रेण्ड छ । हाम्रो प्रेम सुरु भएको केही समयदेखि नै हामीबीच यौन सम्बन्ध स्थापित भयो । करिब ३ बर्षयता हामीले सम्बन्धलाई निरन्तरता दिइरहेका छौं । हामीबीच सबै कुरा मिलिरहेको जस्तो लाग्छ ।

तर, तपाईका मनोवैज्ञानिक र यौन समस्यासँग सम्बन्धित लेख पढ्दै जाँदा उसले मलाई धोका देला कि भन्ने लाग्न थालेको छ । किनभने, म भन्दाअघि उसको अरुसँग नै प्रेम र यौनसम्बन्ध थियो । मसँग  सम्बन्ध स्थापित भएपछि उसले पहिलो गर्लफ्रेण्डलाई छाडेको थियो ।

जसरी मेरा लागि उसले पहिलो गर्लफ्रेण्ड छाड्यो, त्यसैगरी अरु कुनै युवतीसँग आकर्षित भएर उसले मलाई छाड्ने त होइन ? यो कुरा मेरा साथीभाइसँग पनि भनेँ । उनीहरुले पनि मेरो ब्वाइफ्रेण्डको बारेमा यसै भन्न नसकिने भएकाले भविश्यमा धोका पनि हुन सक्ने बताए ।एकपटक कसैलाई धोका दिइसकेको मान्छेले पटक-पटक धोका दिन सक्छ ? मलाई किन डर र शंका लागेको होला ?

करुणा कुँवरको जवाफ- धोका व्यक्तित्व अनुसार फरक पर्न सक्छ

मानिसको सबैभन्दा ठूलो सत्रु नै डर र चिन्ता हो । यस्ता भावले मानिसलाई कुनै न कुनै काम गर्न प्रेरित गर्छन् । कतिपय अवस्थामा यस्ता काम गलत पनि हुन पुग्छन् । तपाईमा पनि यो लागू हुन सक्छ ।

वर्तमानको अवस्थालाई भन्दा भविश्यमा सम्बन्ध बिग्रने हो कि भन्ने चिन्तामा ढुबेर हालमा भएको राम्रो सम्बन्धलाई बिगारेको उदाहरण प्रशस्त देखिन्छ । तपाईको प्रश्न पढ्दा तपाईको सोचले अहिले सुमधुर रहेको सम्बन्धमा अप्ठयाराहरु आउन सक्ने सम्भावना छ । आफ्नो पार्टनरसँग सम्बन्ध राम्रो छँदाछँदै भविश्यमा केही नराम्रो हुन्छ कि भनेर सोच्ने र मनमा अविश्वास राखी सम्वन्ध अगाडि बढाउन खोज्ने हो भने सम्वन्धमा समस्या पैदा गर्ने चाहिँ अवश्य हुन्छ ।

अलिकति तपाईले सोध्नुभएको प्रश्नका बारेमा चर्चा गरौ । वास्तवमा एउटा धोकाले अर्कोलाई पछ्याइरहने हुँदैन । केही यस्ता असहज सम्वन्धहरु हुन्छन्, जसका लागि परिपक्व निर्णयको खाँचो पर्दछ । कतिपय सम्बन्ध परिपक्क भैनसकेको र आवेश र लहडका भरमा स्थापित भएको  हुन सक्छ । यस्ता अपरिपक्व सम्बन्धमा धोका हुन सक्छ । एउटा धोकाबाट अर्को मजवूद सम्वन्धको गाँठो कसिन पनि सक्छ ।

विभिन्न समयमा भएका अध्ययन अनुसन्धानहरुले एकपटकको धोकाबाट पाठ सिक्दै नयाँ सम्वन्धहरु मजवूद र दिगो भएको देखाएका छन् । अमेरिकामा युवा र युवतीमा यस्तै किसिमको एक अनुसन्धान गरिएको थियो । अनुसन्धानमा सहभागीहरु फरक यौनसाथीसँग सम्पर्क गर्नेहरु रहेका थिए । तीमध्ये ८६ प्रतिशत युवा र ६२ प्रतिशत युवतीले फरक मान्छेसँग एकपटक भन्दा बढी यौन सम्बन्ध भएको बताएका छन् । तर, यो एउटा मात्र अनुसन्धानको कुरा हो । यस्तो अध्ययन कलेज पढ्ने युवा पुस्तामा  गरिएको थियो । यो अध्ययनले निष्कर्ष निकालेको थियो, एउटा मानिस एउटा धोकाबाट परिपक्व भएर अघि बढ्न सक्ने रहेछ ।

एउटा पार्टनर हुँदाहुँदै कसैले अर्को पार्टनर बनाउँछ भने त्यसको पछाडि कुनै कारण अवश्य हुन्छ । विशेष गरी सम्बन्धसँग वा व्यक्तिसँग गाँसिएका कुरा हुन सक्छन् । विभिन्न अध्ययन अनुसार प्रायः मानिसहरुले धोका दिनु पर्ने कारणमा भइरहेको सम्बन्धसँग असन्तुष्टि भएको बताउने गरेका छन् । मेरो अध्ययनले पनि त्यही देखाएको छ ।

उदाहरणका लागि दुईजना वीचको भावनात्मक, यौन चाहना वा व्यक्तित्व नमिलेको हुन सक्छ । बाल्यअवस्थामा भावना वा मायामा अभाव भोग्नुपरेको वा आफूले पनि कुनै धोकाको महशुस गरेको छ भने मायाको खोजी गर्ने क्रममा धेरै पार्टनर हुन सक्दछ ।

तर, अर्को सम्बन्ध भइसकेपछि फेरि त्यस्तै असन्तुष्टि हुन सक्ने र धोका हुन सक्ने नहुन सक्दछ । एकपटक सम्बन्ध टुट्दैमा फेरि भविश्यको सम्बन्ध पनि त्यस्तै हुन्छ भनेर भन्न सकिँदैन । वास्तवमा धोका भन्ने कुरा व्यक्तित्व अनुसार फरक पर्न सक्छ । जस्तै-कुनै व्यक्ति स्वअनुशासित छ, अरुको भावनालाई बुझ्न सक्छ र सचेत हुन्छ भने उसले धोका दिने कम सम्भावना हुन्छ । त्यस्तै जो व्यक्ति यसको ठीक विपरीत छ भने उसले धोका दिने सम्भावना बढी हुन्छ । अर्को अध्ययनका अनुसार कोही व्यक्तिहरु तनाव र चिन्तावाट टाढा रहन पनि अर्को व्यक्तिसँग सम्बन्ध बढाउने गर्दछन् ।

तपाईको सन्दर्भमा मैले सुभाव दिँदा यिनै विषयको साहारा लिने प्रयास गरेकी छु । तपाईले भनेअनुसार एकपटक धोका दिनेले अर्कोपटक पनि धोका दिनसक्छ भन्ने हो । झट्ट सुन्दा यो सत्य जस्तो सुनिए पनि सधैं सत्य हुँदैन । आफ्नो पार्टनर तपाईलाई साँच्नै मन परेको हो र उहाँसँग सम्बन्ध बढाउनका इच्छुक हुनुहुन्छ भने सुरुमा तपाईंले नै विश्वासको वातावरण सिर्जना गर्न आवश्यक छ ।

माया तथा यौनका लागि वातावरण र परिवेश आवश्यक पर्छ । यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ । आपसमा माया र भावना साटासाट गर्ने अवसरहरु उपलब्ध हुनुपर्छ । अर्थात सबै किसिमको बैधानिकता हुनुपर्छ । यी सम्पूर्ण कुराहरुको अभावमा मानिसहरुमा केही न केही त्रास, डर वा शंका उपशंकाहरु हुन्छन र यसले गर्दा एकअर्काको भावनालाई बुझ्न कठिन भएको र दुवैले यौन सम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन भएको महशुस हुन सक्छ ।

तपाईको प्रश्नमा तपाई र पार्टनरबीच अहिले कुनै अप्ठयारो नभएको बुझिन्छ । त्यसैले एक अर्कासँग कुराकानी, आफ्ना चाहनाहरु अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरेमा यो समस्या त्यति ठूलो होइन । तपाईमा आएको शंकाले तपाईको पार्टनरलाई तपाईको व्यवहारले कुनै दबाव दिएको महसुस गर्नु हुँदैन ।

दुईजनामा एकजनाले आफूलाई यौनेच्छा नहुँदा त्यो इच्छा व्यक्त गर्ने अधिकार दिने र त्यस्तो भावनाको सम्मान गरिनुपर्दछ । यौन सम्पर्कपछि एकअर्काप्रतिको सम्मान हुनुपर्छ । कसैले पनि यस्ता विषयमा सम्मान गिरेको महसुस हुनुहुँदैन । यौनईच्छा यौन कृयाकलापका बारेमा खुलेर एक अर्कासँग कुरा गर्नुपर्दछ ।

यसबाहेक हरेक यौन सम्पर्क हुनुभन्दा अगाडि एक अर्काको शरीर र भावनालाई महसुस गर्ने गर्नुपर्दछ । तपाईहरुको सम्बन्ध आजसम्म राम्रो छ भने त्यसलाई सम्मान गर्नुपर्दछ र अझ मजबुत बनाउनका लागि के कुरा आवश्यक छ, त्यसतर्फ ध्यान जानुपर्छ । त्यसपछि तपाईको शंका र डर बिस्तारै कम हुँदै जान्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!