बोनम्यारो प्रत्यारोपणबाट एड्सरोगीको उपचार सफल !

Posted on: 06 Mar, 2019

काठमाडौं । एड्सलाई प्राणघातक रोग मानिँदै आएको छ र यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । तर, हालै एक एड्स रोगीको स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरी पूर्णरुपमा स्वस्थ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुनै एड्सरोगीको सफल उपचार भएको यो दोस्रो घटना हो ।

बेलायतका ती बिरामीको नाम खुलाइएको छैन । उनलाई झण्डै तीन वर्ष अगाडि एचआईभी संक्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एक दाताको बोन म्यारोको स्टेम सेल प्रत्यारोपण गरिएको थियो ।

चिकित्सकका अनुसार १८ महिनादेखि ती बिरामीमा एचआईभी भाइरसको कुनै लक्षण देखिएको छैन । जबकि, उनले एन्टि–रेट्रोभाइरल औषधि सेवन बन्द गरिसकेका छन् ।

यद्यपि, उनी पूर्णरुपमा निको भएका हुन् वा होइनन् भन्ने स्वतन्त्र अन्वेषण हुन बाँकी छ । यसअगाडि अमेरिकाका टिमोथी ब्रोन नामक बिरामी यही प्रक्रियाबाट एड्समुक्त भएका थिए । ल्यूकेमियाबाट पनि पीडित उनलाई सन् २००७ मा बोन म्यारो प्रत्यारोपण गरिएको थियो । अहिलेका बिरामीमा चाहिँ सन् २०१२ देखि हजकिन्स लिम्फोमा नामक क्यान्सर देखिएको थियो । अहिले उनको क्यान्सर पनि निको हुने चरणमा छ ।

चिकित्सकका अनुसार बोनम्यारो प्रत्यारोपण प्रक्रिया खतरनाक र पीडादायी हुने गर्छ । यसलाई एड्सको नियमित उपचारमा प्रयोग गर्न सकिने सम्भावना नरहेको उनीहरु बताउँछन् । ‘तर आगामी दिनहरुमा एड्सको पूर्ण उपचार सम्भव हुने कुरामा हामी आशावादी बनेका छौं,’ माइक्रोबायोलोजिस्ट जेफ्री मिलुसले भने ।

बेलायतको युनिभर्सिटी कलेज लन्डन, इम्पेरियल कलेज लन्डन, क्याम्ब्रिज र अक्सफर्ट विश्वविद्यालयका अनुसन्धानकर्ताहरु यो प्रक्रियामा संलग्न छन् । अनलाइनखबरबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!