निन्द्रा लागेन ? मिठो निन्द्राको लागी अपनाउनुस् यी १५ टिप्स

Posted on: 01 Oct, 2018

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः

१. दिउसोको पेय बदल्नुस्

दिउसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गर्नुभएको छ भने दिउसो २ बजेपछि यस्ता पेय पदार्थ लिन चटक्कै छोड्नुस् । राति सुत्नुअघि चिया र कफी खाने बानी छ भने तत्काल आफूलाई सुधार्नुस् । किनकि, निद्र नलाग्ने समस्या भएका मानिसका लागि विशेष गरेर कफी घातक मानिन्छ ।

२. ‘हेभी डिनर’ नलिनुस्

डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी सुधार्नुस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पु¥याउँछन् ।

३. सुत्नुअघि मदिरा नखानुस्

मदिरापारखीले सुत्नुअघि चुस्की लिए मीठो निद्रा लाग्ने ठान्ने गरेका छन् । तर, यो सत्य होइन । यसले तपाईंलाई छिट्टै निद्रा त लगाउँछ, तर केही घण्टापछि नै तपाईंको निद्रा भंग हुने, छिनछिनमा बिउँझिने समस्या हुन्छ । निद्रा नलागेको झोँकमा बढी मदिरा लिने गर्नुभएको छ भने आजैदेखि मात्रा घटाउनुस् । डेढ र बढीमा दुई पेगभन्दा बढी मदिरा नलिनुस् । सकिन्छ भने मदिरा छाड्नुहोस् ।

४. सुत्ने कोठामा मधुरो बत्ती राख्नुस्

चर्को प्रकाशमा बसेर सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

५. ओछ्यानमा मोबाइल नचलाउनुस्

ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि आफूलाई बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।

६. तालिका बनाउनुस्

सुत्ने र उठ्ने समयतालिका बनाउनुस् र यसलाई भरिसक्के पालना गर्नुस् । सधँै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।

७. सुत्नुअघि कसरत नगर्नुस्

कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच चार घण्टाको ग्याप राख्नु राम्रो हु्न्छ ।

८. चुरोट छोड्नु्स्

चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो नगर्नुस् ।  चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

९. सुत्नुअघि औषधि नखानुस्

प्रेसर, डिप्रेसन लगायतको औषधि नियमित सेवन गर्ने गर्नुभएको छ भने औषधि खाने समय र सुत्ने समयबीच केही घण्टाको अन्तर राख्ने कोसिस गर्नुस् । यस्ता औषधि खानासाथ सुत्न जानुभयो भने निदाउन समय लाग्छ ।

१०. मनमा गुम्सिएका कुरा लेख्नुस्

मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने उनीहरूको सुझाव छ ।

११. कथा, संगीत सुन्नुस्

निद्रा लाग्दैन भने रेडियो, ल्यापटप, मोबाइलबाट मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाल्नुस् । डाक्टरहरू निदाउने यो शैलीबाट धेरै मानिस लाभान्वित भइसकेको बताउँछन् ।

१२. सकारात्मक सोच राख्नुस्

नराम्रो चिताउने र सोच्ने बानीले गर्दा पनि निदाउन समस्या पर्ने गरेको मनोचिकित्सकहरूको भनाइ छ । यसका लागि आफू र अरूको भलो चिताउने गर्नुस् । सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर पर्छ निद्रामा ।

१३. गहिरो सास लिने गर्नुस्

फुर्सदमा गहिरो र लामो सास फेर्ने गर्नुस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ, जसले गर्दा राति मीठो निद्रा पर्छ । गहिरो सास लिने गरेमा मुटुको धड्कन सन्तुलनमा आउने र रक्तचापका बिरामीलाई राम्रो हुने गर्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक रसायन उत्सर्जन हुन्छ, जसले तपाईंलाई तनावरहित बनाएर मीठोसँग निदाउने अवस्था सिर्जना गरिदिन्छ । गहिरो सास लिँदा पाँच सेकेन्डसम्म सास तान्ने, तीन सेकेन्ड थाम्ने र पाँच सेकेन्डसम्म सास फाल्ने गर्नुपर्छ । यो विधिलाई योगगुरुले मात्र नभई चिकित्सकहरूले पनि अनिद्रा भएका मानिसका लागि उपयोगी ठह¥याइसकेका छन् ।

१४. खानपानमा ध्यान दिनुस्

मीठो निद्रा लगाउन माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा एकभन्दा बढीलाई हरेक दिनको खानामा समावेश गर्ने कोसिस गर्नुस् ।

१५. सुत्नुअघि पानी नपिउनुस्

कसै–कसैले सुत्नुअघि पानी पिउने बानी बसालेका हुन्छन् । यस्तो बानी आजैदेखि बदल्नुस् । किनकि, पानी पिएर सुत्न जाँदा राति पिसाब फेर्न उठ्नुपर्छ । यसरी निद्रा भंग हुन्छ । सुत्नुभन्दा एक अथवा दुई घण्टाअघि पानी पिउने गर्नुस् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!