स्वरोजगार बन्दै विद्यार्थी

Posted on: 04 Jun, 2018

जेठ २१, ललितपुर | विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् । 

लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थालेको सहायक प्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । 

विद्यालयले चार वर्ष पहिलेदेखि कक्षा ९ बाट प्राविधिक विषयअन्तर्गत यो विषयको पढाइ शुरु गरेको थियो । अहिले कक्षा १२ सकेको पहिलो ब्याच विद्यालय सकाएको सहायक प्रधानाध्यापक थापा बताउनुहुन्छ । 

कतिपय विद्यार्थी स्नातक अध्ययनका लागि विभिन्न कलेजमा नाम निकालेका छन् । नाम ननिकालेका र विज्ञानलगायतका अरु संकायमा अध्ययन शुरु गरेका विद्यार्थीले भने काम थालेका छन् । उहाँ भन्नुहुन्छ, “सामान्य विषय पढेका स्नातकोत्तर गरेकालाई समेत रोजगारी पाउन गाह्रो छ तर यो विषयमा १२ सकेका हाम्रा विद्यार्थी खाली बस्नु परेको छैन ।” 

पढाइमा अब्बल र मध्यम दुवैखालका विद्यार्थीका लागि यो विषय उपयोगी भएको विद्यालयको अनुभव छ । पढाइमा राम्रा विद्यार्थी इञ्जिनियरिङमा नै विभिन्न कलेजमा स्नातक अध्ययन गर्न थाल्छन् । मध्यमखालको पढाइ भएका विद्यार्थी विद्युत् जडानलगायतका काममा लाग्छन् । उहाँ भन्नुहुन्छ, “कतिपय विद्युत् प्राधिकरणका लागि आवेदन भरेर तयारीमा लाग्ने गरेका छन् ।” 

धेरै अभिभावकले प्राविधिक विषय पढाउन चाहने विद्यालयको अनुभव छ । कतिपयले निजी विद्यालयमा कक्षा ८ सम्म पढेका विद्यार्थीलाई समेत प्राविधिक विषय पढाउन यहाँ ल्याउन थालेका छन् ।(रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!