सिलिन्डर कहिल्यै नगुडाउनोस् : यी हुन् ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

Posted on: 23 Mar, 2023

चैत ७ काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको संकेत दिन्छ ।

ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास स्टोभ सिलिन्डरभन्दा सधैँ अग्लो ठाउँमा राख्नुपर्ने नेपाल ग्यासले जनाएको छ ।

१.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्रयोग गर्न नहुने, ग्यास पाइप, अरू जोर्नी र भल्बहरूमा लिक छ/छैन समय–समयमा साबुनपानीले जाँच गर्नुपर्नेमा नेपाल ग्यासले जोड दिएको छ ।


नेपाल ग्यासका अनुसार सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुपर्छ । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग गर्नु हुँदैन । त्यसरी प्रयोग गरे रेगुलेटर बिग्रने र ग्यास लिक हुने सम्भावना हुन्छ ।

सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै गुडाउन र फाल्न हुँदैन । त्यसो गर्दा दुर्घटना हुने सम्भावना हुने नेपाल ग्यासले जनाएको छ ।

ग्यास प्रयोग गर्दा यी कुरामा ध्यान दिनोस्–

– ग्यास प्रयोग गर्नुभन्दा अगाडि भान्साको झ्याल र ढोका सधैँ खुला राख्नुहोस् ।

– ग्यास स्टोभ सिलिन्डरभन्दा अग्लो ठाउँमा राख्नुहोस् ।

– १.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्रयोग नगर्नुहोस् । ग्यास पाइप, अरू जोर्नी र भल्बहरूमा लिक छ/छैन समय–समयमा साबुनपानीले जाँच गर्नुहोस् ।

– सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुहोस् । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग नगर्नुहोस् ।

– सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै नगुडाउनुहोस् र नफाल्नुहोस्, यसबाट दुर्घटना हुने सम्भावना हुन्छ ।

– अटोमेटिक ग्यास उपकरणबाहेक अरू स्टोभ बाल्नुभन्दा पहिले ग्यास लाइटर वा सलाई ठिक पारेर राख्नुहोस् ।

– तापको स्रोत कहिल्यै सिलिन्डरको नजिकै नराख्नुहोस् । जस्तै : हिटर, मट्टीतेलको स्टोभ आदि ।

– बलिरहेको ग्यास स्टोभ छाडेर कतै नजानुहोस् ।

– काम सकिएपछि पहिले रेगुलेटर र पछि चुलोको नब बन्द गर्नुहोस् (Clock wise direction)।

– बालबालिकालाई जथाभावी ग्यास चुलो चलाउन नदिनुहोस् ।

– उपकरण बिग्रिएमा आफैँ कहिल्यै नबनउनुहोस् र नचलाउनुहोस् । यसका लागि कम्पनीमा सम्पर्क गर्नुहोस् ।

– भान्सामा काम गर्दा रेसमी, ऊनी, नाइलन, टेरीकटन, टेरीलिन आदिबाट बनेका लुगा प्रयोग नगर्नुहोस् । सधैँ सुती कपडा मात्र प्रयोग गर्नुहोस् ।

– ग्यास चुलोभन्दा माथि रहेका र्‍याक, सेल्फ आदिबाट सामान झिक्दा सावाधान भएर झिक्नुहोस् ।

– ग्यास चुलो झ्यालनजिक छ भने उक्त झ्यालमा लामो झोलिने पर्दा प्रयोग नगर्नुहोस् ।

– सधैँ उच्च गुणस्तरको प्रमाणित रबर ट्युब, रेगुलेटर एवं अरू उपकरण प्रयोग गर्नुहोस् । यसका लागि आईएसआई अथावा एनएस गुणस्तर चिह्न भए/नभएको यकिन गरेर मात्र खरिद गर्नुहोस् ।

– सिलिन्डरमा रेगुलेटर फिट गर्नुभन्दा पहिले भल्बभित्रको रबर वासर (Jointing Seal) अनिवार्य रूपमा जाँच गर्नुहोस् ।

– आगोको स्रोतहरू बन्द भएको निश्चित भइसकेपछि मात्र सिलिन्डर फेर्नुहोस् ।

(नेपाल ग्यासद्वारा जारी सेफ्टी टिप्स ।)


यस बिषयमा तपाइको प्रतिक्रिया...!