क्रिप्टो तथा अनलाइन जुवाका सबै वेबसाइट र एप नेपालमा प्रतिबन्ध गर्न निर्देशन

Posted on: 09 Jan, 2023

पुस २५, काठमाडौं | सरकारले मुद्राका रूपमा कानुनी मान्यता नदिएको बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई त्यसमा पहुँच पुग्न नसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अनलाइन प्रविधिमार्फत हुने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी , हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चुअल माध्यमहरू प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी व्यवस्था मिलाउन प्राधिकरणले सेवा प्रदायकलाई भनेको हो । 

‘त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सेवा प्रदायक संस्थाहरूलाई निर्देशन गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

उक्त निर्देशन पालना नगरे ऐन बमोजिम कारबाही हुने प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ । यसअघि अर्को नियामक निकाय, राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरूमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको थियो । 

फिका विश्वकपका बेला सट्टेबाजीमा संलग्न भएको आरोमा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो । हालै मात्र नेपाल र यूएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा ‘लाइभ बेटिङ’ गर्दै गरेको अवस्थामा प्रहरीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट एकै पटक ५० जनालाई नियन्त्रणमा लिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!