पब्जीको 'विश्वकप' मा नेपाली दुई टोली, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

Posted on: 19 Dec, 2022

पुस ४, काठमाडौँ | चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्।

आगामी जनवरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्।


चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख अमेरिकी डलर घोषणा गरिएको छ।

उक्त रकम अन्तिम चरणमा पुगेका १६ वटै टोलीलाई उनीहरूले प्राप्त गरेको अङ्कका आधारमा भाग लगाइने छ।

त्यसमध्ये सेमिफाइनल चरण पार गरेका नेपाली दुवै समूहले कम्तीमा पनि एक-एक करोड नेपाली रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने निश्चित भइसकेको बताइएको छ।

सुरुमा विश्वभरिका ४८ समूहको प्रतिस्पर्धा भएको थियो त्यसमा तीनवटा नेपाली टोली थिए। तर नेपालको स्काइलाइट्स गेमिङ चाहिँ बाहिरिएको छ। यद्यपि, उक्त समूहले ३३ हजार डलर बराबरको नगद पुरस्कार प्राप्त गरेको हुनसक्ने बताइएको छ।

उनीहरूले विश्वस्तरको प्रतिस्पर्धामा जानुअघि दक्षिण एसियाली प्रतियोगिता पार गरेका हुन्। जसमार्फत् नेपालका तीन, मङ्गोलियाका दुई र पाकिस्तानको एक टोली छनौट भएका थिए। तीमध्ये नेपालको एउटासँगै पाकिस्तानी टोली अन्तिम चरणसम्म पुगेनन्। बिबिसी नेपालीबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!