फेसबुक : मार्क जुकरबर्गले ११,००० भन्दा बढी कर्मचारी निकाले, यस्तो कारण दिए

Posted on: 11 Nov, 2022

कात्तिक २५, काठमाडौँ | अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।​ फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन् ।

मार्क जुकरबर्गले यो निर्णयलाई मेटाको इतिहासमा सबैभन्दा कठिन निर्णय भनेका छन् ।​ मेटामा हजारौंको रोजगारी गुमेको पाँच दिनअघि माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि हजारौँ मानिसलाई अचानक निकालिएको छ ।


जुकरबर्गले यसको कारण बताए

यो कदम पछि मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै यो सबैका लागि निकै गाह्रो भएको बताएका छन् ।

उनले आफ्नो बयानमा लेखेका छन्, ‘मलाई थाहा छ यो सबैका लागि गाह्रो छ र म यस निर्णयबाट प्रभावित सबैसँग माफी चाहन्छु ।’

मार्क जुकरबर्गले यो निर्णयका लागि व्यवसायमा वृद्धिका ती दीर्घकालीन अपेक्षालाई जिम्मेवार बताएका छन् जुन कोरोना महामारीका बेला बढेको नाफाका लागि लगाइएको थियो ।

उनले लेखेका छन्, ‘धेरैले यो नाफालाई स्थायी हुने अनुमान गरेका थिए । मैले पनि त्यही अनुमान गरेको थिएँ । त्यसैको आधारमा मैले आफ्नो लगानीमा उल्लेख्य वृद्धि गरेँ ।’

तर बृहत् आर्थिक गिरावट अर्थात् आर्थिक वृद्धि सुस्त हुनु र बढ्दो प्रतिस्पर्धाका कारण नाफा अपेक्षाभन्दा बढी घटेको छ ।

यससँगै मार्क जुकरबर्गले आफूले गलत मूल्याङ्कन गरेको र त्यसको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार जुकरबर्गले गत मंगलबार सयौं कर्मचारीलाई यसबारे जानकारी दिएका थिए ।

जुकरबर्गले अब के गर्नेछन् ?

मार्क जुकरबर्गले आफ्नो कम्पनीले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, विज्ञापन र मेटाभर्स जस्ता क्षेत्रमा लगानी गर्ने बताएका छन्, जसमा वृद्धिको उच्च सम्भावना छ ।

यससँगै मेटाले आफ्नो भवन कार्यालयमा हुने खर्च घटाउने भएको छ । यसका साथै कम्पनीले आगामी दिनमा डेस्क सेयरिङ मोडलको प्रवर्द्धन गर्ने जनाएको छ ।

मेटाले यो पनि भनेको छ कि यस निर्णयबाट प्रभावितहरूलाई चाँडै इमेल मार्फत् सूचित गरिनेछ र प्रश्नहरू सोध्ने विकल्प हुनेछ ।

फेसबुकले ती कर्मचारीहरुका लागि केही प्याकेजको पनि व्यवस्था गरेकाे छ । बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!