अनलाइनबाट सामान खरिद गर्दा ख्याल राख्नुहोस् यी कुरा

Posted on: 26 Sep, 2022

असोज १०, काठमाडौं | प्रविधिको विकाससँगै पछिल्लो समय अनलाईन सपिङ गर्ने ट्रेन्ड बढ्दै गएको छ। अनलाइन शपिङले हामीमध्ये कतिको जीवनमा निकै ठूलो भूमिका खेलेको हुन्छ । आफूलाई आवश्यक परेका विभिन्न सामाग्री अनलाइनमा सर्च गरेर अर्डर गरेकै भरमा कोठामै आइपुग्छ । यो हिसाबले अनलाइन शपिङ प्रभावकारी भएपनि पछिल्लो समय अनलाइनमा हुने विभिन्न स्क्याम भने यसका चुनाैती हुन् । त्यसैले अनलाइन शपिङ गर्दा नक्कली सामाग्री, ठगी जस्ता कुरामा भने निकै ध्यान दिन आवश्यक छ ।


अनलाइनबाट विभिन्न सामाग्री खरिद गर्दा सधैँ जोखिम हुन्छ वा ठगीमा परिन्छ भन्ने पनि होइन । इन्टरनेटमा थुप्रै आधिकारिक तथा अनधिकारिक साइट हुने भएकाले केही विशेष ख्याल चाहिँ गर्नुपर्छ भन्ने हो । इन्टरनेटमा देखा परेका जुनसुकै साइटलाई विश्वास गरेर अनलाइन सपिङ गर्दा थुप्रै जोखिम हुन्छन् । त्यसले अनलाइनप्रति तपाईँको विश्वास घट्ने, समय तथा पैसा खर्च गराउने भएकाले केही कुरा भने ख्याल गर्नुपर्ने हुन्छ ।

औषधिजन्य सामाग्री

इन्टरनेटमा औषधीजन्य सामाग्रीको उद्योग नियमन नभएको उद्योग हो । यसमा विशेषगरी भिटामिन तथा पोषण तत्व, तौल घटाउने शुत्रहरू जस्ता विषय समावेश हुन्छन् । यसमा केही देशहरूले नीति ल्याएको भए पनि धेरै देशहरू नियमन गर्न चुकिरहेका छन् ।

यसको अर्थ विभिन्न सामग्रीहरू परीक्षण नगरि कतिपय वेबसाइटले औषधिहरू राखिरहेका हुन्छन् । त्यसैले अनलाइनबाट औषधि खरिद गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । तपाईँले खरिद गर्न लागेको औषधि वा स्वास्थ्य सम्बन्धी टिप्स दिने साइट आधिकारिक हो या होइन भन्ने कुराको अध्ययन गर्नुहोस् । यसरी विभिन्न नियामक निकायले प्रमाणिकरण नगरेका साइटहरू विश्वास गरेर औषधिजन्य सामाग्री खरिद नगर्नुहोस् ।

सेकेन्ड ह्यान्ड सामग्रीहरू

फेसबुक मार्केटप्लेस सेकेन्ड ह्यान्ड सामाग्री खरिद गर्नका लागि उपयुक्त प्लेटफर्म हो । जसका माध्यमबाट तपाईँले कुनै संस्थाबाट भन्दा पनि व्यक्तिलाई भेटेर सामान खरिद गर्न सक्नुहुन्छ । तर, यसमा थुप्रै जोखिमहरू पनि हुन्छन् । फेसबुक मार्केटप्लेसबाट सेकेन्ड ह्यान्ड सामान बिक्री गर्ने सबै व्यक्ति वा आधिकारिक हुन्छन् भन्ने हुँदैन । उनीहरूले उक्त सामानको प्रशंसा गरेको भरमा विश्वास गरेर सामान खरिद गरिहाल्नु हुँदैन । त्यसका लागि पहिले उपयुक्त ठाउँमा भेट्ने प्रयास गर्नुहोस् । त्यस्ता सामाग्रीका लागि पहिले अध्ययन गर्नुहोस्, त्यसपछि भेटेर परीक्षण गरेर मात्र उक्त सामाग्री खरिद गर्नुहोस् ।

सस्ता विद्युतीय सामाग्री

अनलाइनमा देखिने सस्ता सामग्रीमा हामी बढी आकर्षित हुने गर्छौँ । विशेषगरी हामीलाई आवश्यक परेका कुनै विद्युतीय उपकरण सामाजिक सञ्जालमा देखिँदा उक्त सामाग्री खरिद गर्न हामी उत्साहित हुन्छौँ । यूएसबी ड्राइभ, हेडफोन, एयरबड्स, कम्प्युटरका सामग्री खरिद गर्दा सस्तो मूल्य देखेर आकर्षित हुनु हुँदैन । यो कुरा सबैमा लागू हुन्छ भन्ने पनि हुँदैन । किनभने कतिपय आधिकारिक साइटले अफर उपलब्ध गराउने भएकाले सस्तोमा पाइन् सक्छ । त्यसैले सस्तोमा कुनै पनि विद्युतीय सामाग्री खरिद गर्दा कुन कम्पनीको हो, किन सस्तो पाइयो, कस्तो सामाग्री हो भन्ने कुरा ख्याल गर्नुपर्छ ।

घरजग्गा खरिद तथा भाडाको कुरा

पछिल्लो समय अनलाइनबाट घरजग्गा खरिद गर्ने तथा कोठा वा घर भाडामा दिने प्रचलन बढिरहेको छ । यसले केही कुरामा सहज भएको छ भने जोखिम पनि उत्तिकै निम्त्याएको छ । विभिन्न अनलाइन माध्यमबाट कोठा भाडाका लागि लिन खोज्दा केहीले रजिस्ट्रेसन शुल्क लिइरहेका हुन्छन् । यसमा सबै भरपर्दो हुन्छन् भन्ने हुँदैन । कतिपयले ठगी गर्नका लागि नक्कली कम्पनी मार्फत  ठगी गरिरहेका हुन्छन् । आफू ठगिएको थाहा पाएपछि त्यसविरुद्ध कारवाही गर्नका लागि पनि धेरै लामो प्रक्रिया अपनाउनु पर्ने हुन्छ । त्यसैले अनलाइनबाट घरजग्गा खरिद गर्दा वा भाडामा लिँदा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । 

कार्यक्रमका टिकट

कुनै पनि फिल्मको टिकट लिनुपर्यो वा कुनै कार्यक्रम टिकट लिनुपर्यो हामी अनलाइन माध्यमलाई बढी प्राथमिकता दिन्छौँ । एकातर्फ यसले घण्टौँ लाइन लागेर टिकट लिनुपर्ने झन्झटबाट मुक्त गरेको छ भने अर्कोतर्फ जोखिम पनि उत्तिकै निम्त्याएको हुन्छ । नेपालमा कार्यक्रमका टिकट अनलाइनबाट उपलब्ध गराउने प्रचलन बढिरहेको छ । त्यसैले त्यति जोखिम देखिएका छैनन् । यसमा विभिन्न व्यक्तिहरूले नक्कली साइट बनाएर टिकट बिक्री गरिरहेका हुन्छन् । यसमा पनि आफूले कुन साइटबाट टिकट लिन लागिएको हो भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

खाना

अनलाइनबाट खाना खरिद गर्दा पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ । खाना प्रत्यक्ष रूपमा हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसैले अनलाइनबाट खाना खरिद गर्दा खाना कहाँबाट आउँछ भन्ने कुरा ख्याल गर्नुपर्छ । कतिपय बिक्रेताले खानाको गुणस्तरमा ध्यान दिएका हुँदैनन् । जसले गर्दा हाम्रो स्वास्थ्यलाई असर गरेको हुन्छ । त्यसैले कुनै अनलाइनबाट खाना अर्डर गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!