अनलाइनबाट पैसा कमाउने १० तरिका

Posted on: 02 May, 2022

वैशाख १९, काठमाडौँ | अबको १०-१२ वर्षपछि जब तपाईं आफ्नो स्कुलका दिनलाई फर्केर हेर्नुहुन्छ, तपाईंको दिमागमा पक्कै एउटा प्रश्न हुनेछ- मैले किन यस्ता विषय पढें जुन वास्तविक संसारमा कहिल्यै लागू हुँदैन ?

तपाईंले आफ्नो दैनिक जीवनमा तपाईंले पढेकाे त्रिकोणमिति, बीजगणित र क्याल्कुलस सूत्र प्रयोग हुनेछ भन्ने निश्चय छैन । वास्तवमा भन्नुपर्दा संसार कसरी परिवर्तन भइरहेको छ र आधुनिक समाजको रूपमा कसरी उभरिरहेका छौं भन्ने विषयलाई गहिरिएर हेर्दा अझै पनि शिक्षा प्रणालीको विषयमा हामी पुरानो समयमा नै छौं ।

आज पनि युवाहरूले विभिन्न सूत्र र मिश्रणहरू सिक्न घण्टौं बिताइरहेका छन् । यद्यपि, वास्तविक संसारमा सीपमूलक शिक्षा लिनु पनि उत्तिकै महत्त्वपुर्ण छ । सुरक्षित भविष्यका लागि किशोरकिशोरीहरूलाई तयार पार्न सानै उमेरदेखि नै पैसाको मूल्य र आर्थिक स्वतन्त्रता बुझ्नसक्ने बनाउनु जरुरी छ ।

आजको दिनमा सायद यी कुरा सिक्ने सबैभन्दा उपयुक्त तरिका भनेको उनीहरूलाई अनलाइन माध्यमबाट पैसा कमाउनको लागि प्रत्यक्ष रूपमा प्रेरित गर्नु पनि हो ।

इन्टरनेटले संसारमा प्रभुत्व जमाउन थालेपछि, साना बच्चाहरूको अगाडि धेरै भर्चुअल अवसरहरू खुलेका छन्। कोरोनाले घरबाट नै काम गर्ने वातावरण पनि बनाउन मद्दत गरेको छ र अब, वयस्कहरू बाहेक, यसले किशोरकिशोरीहरूलाई पनि अनलाइन पैसा कमाउनसक्ने धेरै तरिका उपलब्ध गराएको छ । 

१. फ्रिलान्सिङ 

कोरोना महामारी फैलिएसँगै फ्रिलान्सिङ (कुनै कम्पनीमा आबद्ध नभई काम गर्ने) र घरबाटै काम गर्ने प्रवृत्ति व्यापक रुपमा प्रचलनमा आयो । घरबाट काम गर्ने प्रचलनले हजारौं मानिसलाई भर्चुअल कामदारको रुपमा परिणत गरिदियाे ।

सामान्य भाषामा बुझ्नुपर्दा फ्रिलान्सिङ भनेको एक व्यक्तिले एउटा कम्पनीसँग आबद्ध हुनुको सट्टा स्वतन्त्र रूपमा काम गर्नु हो । अनलाइन माध्यमबाट पैसा कमाउन चाहने युवाले फ्रिलान्सिङ गर्न सक्छन् ।

कन्टेन्ट राइटिङ अर्थात विभिन्न प्रकाशित हुने सामग्रीहरू लेख्ने, सम्पादन गर्ने, एप विकास, डिजाइन र धेरै अन्य कामसहित विभिन्न क्षेत्रमा स्वतन्त्र रुपमा काम गर्न सक्छन् । यीमध्ये पनि कन्टेन्ट राइटिङ र डिजाइन फ्रिलान्सिङ कामको सबैभन्दा लोकप्रिय क्षेत्रहुन्। उत्पादनको महत्त्व र आवश्यकता बताउन सामग्री महत्त्वपूर्ण हुन्छ ।

कम्पनीहरूले सामग्री लेखकहरू करारमा नियुक्त गरिरहेका हुन्छन् । यसले सम्भावित उपभोक्तासँग कम्पनीको दृष्टिकोण शेयर गर्न सहयोग गर्छ । योसँगै अनलाइन माध्यमबाट गर्नसक्ने अर्को काम भनेको प्रुफ रिडिङ अथवा सामग्री सम्पादन गर्ने काम पनि हो ।

कतिपय प्रकाशित हुने सामग्रीमा व्याकरणहरू प्रमाणीकरण गर्ने काम पनि उपलब्ध हुन्छ । तर स्कुल अथवा हाई स्कुलमा पढिरहेका विद्यार्थीको व्याकरण राम्रो हुन्छ । यसले गर्दा उनीहरूले प्रुफ रिडिङको काम गर्न सक्छन् । इन्टरनेटको सहज उपलब्धताले गर्दा स्वतन्त्र रुपमा काम गर्ने व्यक्तिहरूलाई राम्रो अवसर प्रदान गरिरहेको छ ।

२. ग्राफिक डिजाइनिङ 

संसार डिजिटल प्लेटफर्मतिर सरिरहेको छ र यो डिजिटल संसार उत्कृष्ट ग्राफिक्स बिना अधुरो छ । यदि तपाईं एउटा कलाकारको आँखाबाट संसार देख्न चाहनुहुन्छ र कलाप्रति आकर्षित हुनुहुन्छ भने ग्राफिक डिजाइनिङ तपाईंको लागि उत्तम विकल्प हुनसक्छ ।

स्केचिङ र चित्रकलामा गहिरो रुचि भएका विद्यार्थीहरूले डिजिटल डिजाइन सफ्टवेयरको बारेमा युट्युव वा अन्य अफलाइन कक्षाहरू मार्फत आफ्नो ज्ञान बढाउन सक्छन् ।

एकचोटी तपाईंले कसरी काम गर्ने भनेर जानिसकेपछि, आफ्नो हातले बनाएको रेखाचित्रहरूलाई डिजिटल कलामा रूपान्तरण गर्न र पैसा कमाउनको लागि प्रयोग गर्न सक्छन् । तपाईंले विभिन्न व्यापारिक सामानहरू जस्तै; टी-शर्ट, मग, सिरानी, नोटबुकहरू आफ्नो डिजाइनमा तयार पारी बेच्न सक्नुहुन्छ।

३. वेबसाइट डिजाइनिङ 

आजको यो डिजिटल जमानामा पनि आफ्नो व्यवसायको प्रवर्द्धनको लागि वेबसाइट नबाउने मानिसले आफ्नो व्यवसायलाई पछाडि धकेलिरहेका छन् । आजको प्रतिस्पर्धी बजारमा प्रत्येक कम्पनी, विशेषगरी साना व्यवसायहरूले समेत वेबसाइटहरूमा बढी ध्यान दिइरहेका हुन्छन् ।

विद्यार्थीहरूले वर्डप्रेसजस्तै कोडिङ र कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस) का बारेमा अध्ययन गर्न सक्छन् र कम्पनीहरूलाई अनुकूलित वेबसाइट प्रदान गर्न सक्छन् ।

घरबाट बाहिर ननिस्की यस क्षेत्रको बारेमा अनलाइन माध्यमबाट नै सिक्न र सिक्नको लागि विभिन्न पाठ्यक्रमहरू पनि उपलब्ध छन् । 

४. इन्फ्लुएन्सर 

सामान्यतया इन्फ्लुएन्सर त्यस्तो व्यक्तिलाई भन्ने गरिन्छ, जसको सामाजिक सञ्जालका प्लेटफर्ममा धेरै फलोअर हुन्छन् । युवाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न युट्युव शर्ट्स, टिकटक, इन्स्टाग्राम रिल्सजस्ता छोटो भिडिओ प्लेटफर्ममार्फत अनलाइन पैसा कमाउन सक्छन् ।

यी प्लेटफर्महरूमा विभिन्न उत्पादन अथवा वस्तुहरूको समीक्षा गर्ने, ब्रान्डहरू प्रवर्द्धन गर्ने, उत्पादनहरू बेच्ने लगायतका काम गर्न सकिन्छ । साथै धेरै फलोअर बनाएर अरूको उत्पादन प्रवर्द्धन गर्ने काम पनि गर्न सकिन्छ ।

५. ब्लगिङ र युट्युव भिडिओ 

ब्लगिङ गर्ने अथवा युट्युवमा भ्लगिङ गरेर पैसा कमाउने माध्यमलाई अनलाइन पैसा कमाउनेमध्ये एक उत्तम तरिकाको रुपमा मानिन्छ । ब्लगिङ किशोर-किशोरीहरूका लागि राम्रो पैसा कमाउने अर्को उत्कृष्ट अवसर भएको छ । पहिले लेखनलाई आफ्नो विश्वास र आवेगव्यक्त गर्ने माध्यम मात्र मानिन्थ्यो ।

जबदेखि ब्लगहरू बजारीकरणको अपरिहार्य अंश बने, यो क्षेत्रले ठूलो गति प्राप्त गरेको छ । अनलाइनमा वर्डप्रेस, टम्बलर लगायतका थुप्रै ब्लगिङ प्लेटफर्म उपलब्ध छन्, जुन तपाईंले आफ्नो लागि छनौट गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो रुचि अनुसारको कुनै पनि विषय छान्न सक्नुहुन्छ र सो सम्बन्धी जानकारी वा आफ्नो अनुभव ब्लगमार्फत शेयर गर्न सक्नुहुन्छ ।

ती प्लेटफर्ममा लगातार ब्लगहरू राखेर पैसा कमाउन सक्नुहुन्छ । यसरी धेरै ट्राफिक भएको ब्लगमा विज्ञापनहरू पनि चलाउन सकिन्छ ।

ब्लगिङ बाहेक युट्युव भिडिओहरूले पनि किशोर-किशोरीहरूलाई उत्कृष्ट एक्सपोजर दिइरहेकाे छ र उनीहरूलाई पैसा कमाउन मद्दत गरेकाे छ ।तपाईं कुनै पनि विशेष क्षेत्र जस्तै; सौन्दर्य, घुमघाम, स्वास्थ्य, फिटनेस वा तिनीहरूसँग सम्बन्धित अन्य जानकारी छनोट गर्न सक्नुहुन्छ । तपाईं आफ्नो भ्लग बनाएर युट्युवमार्फत पैसा कमाउन सक्नुहुन्छ । 

६. एफिलिएट मार्केटिङ 

एफिलिएट मार्केटिङ धेरैका लागि नयाँ लाग्न सक्छ । आजको दिनमा याे मार्केटिङ अथवा बजारीकरणको एक महत्त्वपूर्ण पक्ष भएको छ । यसको अभ्यास विगत केही वर्षमा उल्लेखनीय रूपमा बढेको छ, र मानिसहरूले यसलाई राम्रोसँग बुझेका छन् ।

यो एक व्यापक प्रविधि हो, जसको माध्यमबाट मार्केटर (मार्केटिङ गर्ने व्यक्ति) हरूले अन्य कम्पनीका उत्पादन बिक्री गरेर आम्दानी गर्छन् । तपाईंले कुनै पनि कम्पनीका उत्पादन बेच्दा प्रत्येक पटक कमिसन कमाउनुहुन्छ ।

यदि तपाईंसँग सोसल मिडिया ब्रान्डिङ र डिजिटल मार्केटिङको आधारभूत ज्ञान छ भने यो कामले तपाईंलाई ठूलो रकम कमाउन मद्दत गर्नसक्छ ।यो परम्परागत मार्केटिङको लोकप्रिय विकल्प बनेको हुनाले बजारमा यसको माग निकै नै बढेको छ । तपाईं छोटो अवधिको डिप्लोमाको साथ एक प्रमाणित एफिलिएट मार्केटर बन्न सक्नुहुन्छ र आफ्नो आम्दानी अनलाइनमार्फत गर्न सक्नुहुन्छ । 

७. अनलाइन सर्भे 

अनलाइन सर्भे अनलाइनबाट पैसा कमाउने अर्को सजिलाे तरिका हो । स्व्यागबक्स (Swagbucks) एक लोकप्रिय अनलाइन वेबसाइट हो, जसले युवालाई सर्वेक्षण भर्न र भिडिओहरू हेर्दा लागि पैसा दिन्छ ।

तपाईंले यो वेबसाइटमा आफ्नो रजिस्टर गरेर आफ्नो मेलमा सर्वेक्षणहरू प्राप्त गर्नुहुनेछ । एकचोटी तपाईंले ती फारमहरू भर्नुभएपछि तपाईंले अंकहरू कमाउनुहुनेछ, जुन नगदको रूपमा रिडिम गर्न सकिन्छ ।

तपाईं टोलुना (Toluna), टेलि प्लस (Telly Pulse), क्यासक्रेट (CashCrate) लगायत विभिन्न वेबसाइटमा रजिस्टर गरेर अनलाइन सर्भेमा सहभागी भई पैसा कमाउन सक्नुहुन्छ ।

८. अनलाइन टिचिङ 

कोरोना महामारीले मानिसलाई घरभित्र बस्न बाध्य बनायो । शिक्षा प्रणाली तहसनहस भयो । तर, शैक्षिक प्रक्रियालाई निरन्तरता दिन अनलाइन शिक्षाको प्रवर्द्धन भयो ।

त्यसपछि शिक्षा क्षेत्रमा साना स्टार्टअपहरूको निरन्तर वृद्धि भइरहेको छ, जसले युवालाई उनीहरूको शिक्षण सीपलाई परिष्कृत गर्ने मौका दिएको छ ।बजारमा अहिले यस्ता धेरै प्लेटफर्म आएका छन्, जसमा तपाईं शिक्षकका रूपमा काम गर्न सक्नुहुन्छ ।

यसबाहेक आफ्नै अनलाइन कक्षाहरू पनि सुरु गर्न सकिन्छ । तपाईं अन्य विद्यार्थीहरूसँग कुनै पनि क्षेत्रमा आफ्नो विशेषज्ञता शेयर गर्न सक्नुहुन्छ । यो पनि युवा तथा किशाेरकिशाेरीका लागि पैसा कमाउने सम्भाव्य तरिकामध्ये एक हाे । 

९. साना व्यवसाय

सन् २०१६ मा इन्स्टाग्रामले आफ्नो व्यापार र किनमेल फिचरको घोषणा गरेपछि यसले अनलाइन व्यापार गतिविधिलाई बढावा दियो, र विगत केही वर्षदेखि युवाहरूले पनि यसलाई गम्भीर रूपमा लिइरहेका छन् ।

इन्स्टाग्राममा धेरै अकाउन्टहरू छन्, जुन किशोरहरूले ह्यान्डल गर्छन् । उनीहरू यो प्लेटफर्ममा तस्वीरहरू, व्यापारिक सामान, हातबाट बनेका उपहार र अन्य चीजहरू बेच्छन् र अनलाइनबाट पैसा कमाउँछन् ।

तपाईं आफ्नै ई-कमर्स खोल्न र आफ्नो उत्पादन अनलाइनबाट बेच्न पनि सक्नुहुन्छ । यसलाई स्थिरता चाहिन्छ, र यसले तपाईंको ग्राहकलाई ब्रान्डसँग संलग्न गराउन मद्दत गर्दछ । सुरुमा यसले केही समय लिन्छ, तर एकपटक स्थापित भएपछि धेरै पैसा कमाउन सक्नुहुन्छ ।

१०. डेटा इन्ट्री 

डेटा इन्ट्री गर्ने काम पनि धेरै पैसा कमाउन सकिने प्लेटफर्ममध्ये एक हो । यो काम पनि घरमै बसेर अनलाइन माध्यमबाट गर्न सकिन्छ । तर यसका लागि तपाईंको टाइपिङ स्पिड राम्रो हुनुपर्छ । कुनै लगानीबिना नै यो काममार्फत युवाले सजिलै अनलाइन पैसा कमाउन सक्छन् । इन्टरनेटमा धेरै वेबसाइटहरू छन्, जसले किशोरकिशोरीहरूलाई उनीहरूका लागि डेटा सिर्जना गर्न वा वर्गीकरण गर्न दिन्छ ।कम्पनीहरूले सामान्यतया

यस्ता काम गर्न अस्थायी व्यक्तिहरू छान्छन्, जसको फाइदा घरमै बसेर काम गर्ने युवाले लिनसक्छन् ।बिजनेस इन्साइडरबाट ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!