सूचना प्रविधि प्रयोगमा काठेखोला पहिलो

Posted on: 25 Nov, 2021

मंसिर ९, बागलुङ, न्युज कारखाना |  सूचना प्रविधिको प्रयोग क्षमतामा बागलुङको काठेखोला गाउँपालिका जिल्लामै पहिलो भएको छ । १० स्थानीय तह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कन समितिले उत्कृष्ट घोषण गरेको हो ।

सूचना तथा प्रविधि शाखाले सार्वजनिक गरेकोे प्रतिवेदनका आधारमा जिल्लाका १० पालिकामध्ये काठेखोला गाउँपालिकाले सबैभन्दा बढी ६० अंकभार प्राप्त गरेको छ । गाउँपालिकाभित्रका विद्यालयमा सिसि क्यामेरा जडान, कार्यालय विद्युतिय हाजिरी, वैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पहुँच, वेबसाइट व्यवस्थापनलगायतका विषयमा पालिकाले ६० अंकभार प्राप्त गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । गाउँपालिकाले विद्युतिय प्रोफाइल समेत निर्माण गरेको छ । 

सूचना प्रविधिको प्रयोगमा निसीखोला गाउँपालिका ५२ अंक प्राप्त गर्दै दोस्रो र ४९ अंकका साथ बरेङ गाउँपालिका तेस्रो, ४९ अंकसहित तमानखोला गाउँपालिका चौथो,  ४५ अंकसहित ढोरपाटन नगरपालिका पाँचौ नम्बरमा परेको छ । 

अन्य पाँच स्थानीय तह बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले विवरण नै उल्लेख गरेका छैनन् । स्थानीय तहको सूचना प्रविधिसँगको सामिप्यता, सूचना प्रविधिसम्बन्धी संस्थागत क्षमता र सूचनासँग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!