सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स

Posted on: 29 Dec, 2018

पुस १४, हेटाँैडा | मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । 

कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो । उक्त गाउँपालिकाले एप्स निर्माण गरी पाँचवटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल वितरण पनि गरेको छ । वितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारे जानकारी विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसूति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन् । अद्यावधिक गरिएको विवरणबमोजिम एप्सले समयावधिको आधारमा ‘नोटिफिकेशन’ पठाउने र सोहीबमोजिम स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहारका लागि परामर्श दिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टङ्कबहादुर मोक्तानले बताउनुभयो । 

“स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवासुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौँ”, अध्यक्ष मोक्तानले भन्नुभयो, “हामी बिकट र दुर्गममा पनि प्रविधिको उपयोग गरेर जनतालाई सजिलो पर्ने गरी सेवा दिन लागेका छौँ ।” एप्सको प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने र उनीहरुको स्याहार गर्न सजिलो हुने उहाँले जानकारी दिनुभयोे । 

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने सङ्ख्या ३० भन्दा बढी भएमा प्रतिबालबालिका रु ५०० का दरले कर्मचारीलाई समेत प्रोत्साहन भत्ता दिने जनाएको छ । “स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको सङ्ख्या वृद्धि गर्नका लागि कर्मचारीलाई सक्रिय पार्न यस्तो निर्णय गरेका हौँ”, अध्यक्ष मोक्तानले भन्नुभयो । उहाँका अनुसार भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी पाँच स्वास्थ्यचौकीमा बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुनेछ । पाँचै स्वास्थ्यचौकीमा प्रसूति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने र सङ्ख्या वृद्धि गरेमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिको रहेको उहाँले बताउनुभयो । 

यसैबीच उक्त गाउँपालिकाले पाँच स्वास्थ्य स्वयंसेविकालाई नगद पुरस्कार दिएको छ । भार्ता स्वास्थ्यचौकीका कृष्णमाया थिङ, कटुन्जे स्वास्थ्यचौकीका शुभद्रा प्रजा, नामटार स्वास्थ्यचौकीका लक्ष्मी रिजाल, गोगने स्वास्थ्यचौकीका गङ्गा आलेमगर र डाँडाखर्क स्वास्थ्यचौकीका सुनमाया नेगीलाई जनही रु दुई हजार १०० का दरले पुरस्कार प्रदान गरिएको थियो । 

यस्तै कैलाश गाउँपालिकामा बुधबार कुपोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो । स्वास्थ्यकर्मी भोला चौलागाईंले सहजीकरण गरेको अभिमुखीकरणमा महिला स्वयंसेविका, स्वास्थ्यचौकीका प्रमुख तथा स्वास्थ्यकर्मी सहभागी थिए। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!