भाडाको दश प्रतिशत बाढीपीडितलाई

Posted on: 25 Aug, 2017

भदौ ९, सोलुखुम्बु । सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ । 

दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेरी–काठमाडौँ तथा काठमाडौँ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सेवासँगै सामाजिक सेवा पनि आफूहरुको उद्देश्य भएकाले यस्तो गर्न लागिएको उहाँले बताउनुभयो । 

एक वर्षअघि दर्ता भई सञ्चालन भइरहेको दूधकोशी यातायात प्रालिले अहिले २३ वटा सुमो जिपबाट सल्लेरी–काठमाडौँ–सल्लेरी जिप सेवा सञ्चालन गरिरहेको छ । हाल सल्लेरी–काठमाडौँ जिप भाडा एकतर्फी रु एकहजार ३०० रहेकाले प्रत्येक यात्रुले तिरेको रकमबाट १३० रुपैयाँ विपत्तिमा परेकाका लागि सहयोग हुनेछ । रासस 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!