नुवाकोटका दुई विद्यालयलाई जर्मनेलीहरुद्वारा ३९ थान ल्यापटप प्रदान

Posted on: 12 Nov, 2016

कात्तिक २७, नुवाकोट । विद्यालयमा सूचना प्रविधिको पहँुच सहितको अध्ययनलाई विस्तार गर्न सहयोग पुगोस् भन्दै चौघडामा रहेका दुई विद्यालयलाई रत्न फाउन्डेसन काठमाडौंको अगुवाइमा जर्मनेलीहरुले ३९ थान ल्यापटप र तीन थान प्रोजेक्टर प्रदान गरेका छन् । 

चौघडा –।८ स्थित क्षेत्रपाल माविलाई ३० थान ल्यापटप र दुई थान प्रोजेक्टर र सोही गाविसको वडा नं ९ बानियाटारस्थित इन्द्रायणी निमाविलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको क्षेत्रपाल माविमा लेखापाल अर्जुन पौडेलले जानकारी दिनुभयो । 

नेपाली कांग्रेस क्षेत्र नंं २ का सभापति ध्रुव श्रेष्ठले आयोजकका तर्फबाट विद्यालयका प्रअ कृष्णबहादुर राईलाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो । उक्त कम्प्युटर र प्रोजेक्टरको मूल्य रु १६ लाख भन्दा बढी रहेको विद्यालयले जनाएको छ । 

भूकम्पका कारण विद्यालय भत्किएकाले यसअघि विद्यालयमा रहेका कम्प्युटरमा क्षति पुगेकाले कम्प्युटर विषयको पढाइ नै प्रभावित भएकामा अब भने सहज हुने प्रअ राईले बताउनुभयो । 

यस्तै चौघडा गाविस वडा नं। ९ बानियाँटारस्थित इन्द्रायणी निमाविका प्रअ रामप्रसाद लामिछानेलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!