एट्लेटिको मड्रिडलाई हराउँदै रियल कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौं | रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले एक–एक गोल गरे । एट्लेटिकोका अल्भारो मोराटाले एक गोल गरेका थिए ।


खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले बनाएको थियो । खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । रियलका लागि रोड्रिगोले खेलको ७९ औं मिनेटमा गोल गर्दै १-१ गोलको बराबरीमा ल्याए ।

खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा रियलका लागि खेलको ९९औं मिनेटमा एट्लेटिको मड्रिडका स्टेफन साभिचले रातो कार्ड खाँदा टिम १० खेलाडीमा समेटिएको थियो ।

खेलको १०४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!