बागमती गोल्डकपमा १० टोलीले खेल्ने

Posted on: 31 Dec, 2022

पुस १६, हेटौडा | बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् ।

यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा अमेरिकन क्लब भुटनिजसहित ‘ए’ डिभिजनका सात र मोफसलका दुई टोलीको सहभागिता रहने समितिका अध्यक्ष टीका श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेता टोलीले रु आठ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु चार लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही रु १०–१० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु ७१ लाख खर्च हुने आयोाजकको अनुमान छ । खेल बागमती–८, फापरबारीस्थित जनता माविको मैदानमा हुनेछ । चौथो संस्करणको उपाधि अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!