विश्वकप फुटबल : क्रोएसिया क्वाटरफाइनलमा

Posted on: 06 Dec, 2022

मङ्सिर २०, काठमाडौँ । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । 

आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । 

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 


टाइब्रेकरमा क्रोएसिया विजयी भयो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाएका थिए ।

जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिएका थिए भने ताकुमा असानोको प्रहार भने सफल भएको थियो । 

क्रोएसियाका जीतमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गरेका थिए । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो ।

क्रोएसियाले क्वाटरफाइनलमा आज राति हुने ब्राजिल र दक्षिण कोरियाबीचको विजेता खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!