सन्दीपले २ वटा कोठा लिन नमानेको, २ पटकसम्म बलात्कार गरेको पीडितको बयान

Posted on: 07 Sep, 2022

भदौ २२, काठमाडौँ | राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । 


पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ । गौशाला प्रहरी स्रोतका अनुसार, काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेको ‘फ्यान’ थिइन् । 

सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको थियो । स्न्यापच्याटमार्फत नै  लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए । स्न्यापच्याट पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल हो । यसमा पठाएको सम्वाद हेर्ने बित्तिकै आफैं डिलिट हुने विकल्प हुन्छ । उनीहरूबीच पनि कुराकानीको माध्यम स्न्यापच्याट नै भएको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको गौशाला प्रहरी स्रोत बताउँछ ।उनीहरूबीचको घटना लामिछाने केन्या जानु अघिल्लो दिनको रहेको बताइएको छ । 

सो दिन लामिछाने युवतीलाई लिन आफ्नो कारमा मध्यबानेश्वरस्थित होस्टल नजिक पुगेका थिए । त्यसपछि उनीहरू नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेको थियो । ‘उताबाट फर्किएर आउँदा मध्यराति भइसकेको थियो,’ पीडितको भनाइ उदृत गर्दै गौशाला प्रहरीका एक अधिकृतले भने । 

त्यसपछि राति ११ बजेपछि सन्दीपले होटलमा बस्न पीडित बालिकालाई प्रस्ताव गरेको बताइएको छ । होस्टल पनि बन्द भइसकेपछि पीडित युवती उनीसँग होटलमा बस्न बाध्य भएको प्रहरी स्रोतले बताएको छ । त्यसपछि उनीहरू पिंगलास्थिानस्थित होटलमा बसेका थिए ।  होटलमा २ वटा कोठा लिन पीडितले भनेपनि सन्दीपले नमानेको जाहेरीमा उल्लेख गरिएको छ । 

त्यसपछि राति लठ्याएर दुई पटकसम्म लामिछानेले पीडित बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ ।  प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!