टी–२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रको अर्धशतक, नेपालद्वारा केन्या सामु १७६ रनको लक्ष्य प्रस्तुत

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतकिय पारी खेलेका छन् । मल्लले व्यक्तिगत ५९ रनको स्कोर बनाएर आउट भए । 

टस जितेर पहिले ब्याटिङ गरेको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । खेलमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ । खेलमा ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले ।

जारी खेलमा नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रन बनाउँदा रोहित पौडेलले ४७ रन बनाए । पौडेलले २५ बलमा ७ चौका प्रहार गरे । त्यस्तै अर्जुन साउदले २९ रन जोडे । खेलमा दिपेन्द्र सिङ ऐरीले २२ रन बनाउँदा अदिल अन्सारीले ४ रन बनाए । खेलमा पवन सर्राफ र विवेक यादव जमेर खेल्न सकेनन् । यसरी खेलमा नेपालले केन्यालाई २० ओभरको खेलमा ७ विकेटको क्षेतीमा १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् ।

केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा दुवै टिमले २–२ खेल जितेका छन् । आज भईरहेको अन्तिम खेल जसले जित्छ नतिजा उसैको पोल्टामा जानेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!