स्कटल्यान्डसँग खेल जित्न १४५ रनको लक्ष्य

Posted on: 13 Jul, 2022

असार २९, काठमाडौं | नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ । 

स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो ।

नेपालका सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्ड सस्तैमा समेटिएको हो । 

स्कटल्यानडका लागि नवौं नम्बर ब्याटिङ गर्न लागेको गाबिन मैनले सर्वाधिक ६४ रन बनाए । यस्तै, मार्क वाटले १७, सफयान शरिफले १६, कालुम म्याकलोड १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका सोमपालले १० ओभरमा ४० रन दिएर तीन विकेट लिए । आदिल अन्सारीले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर तीन विकेट झारे ।  करण केसीले ९ ओभरमा ३१ रन दिएर एक विकेट लिए । कप्तान सन्दीपले १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।

श्रृंखलाका लागि स्कटल्यान्ड रहेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता, स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!