पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै, ५० देशका खेलाडी आउने

Posted on: 05 Jun, 2022

जेठ २२, पोखरा | पोखरामा ५ असोजदेखि माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेकवान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

कोभिड १९ का कारण प्रभावित बनेको प्रतियोगिता पहिलो पटक पोखरामा हुन लागेको हो । गत वर्ष गण्डकी प्रदेशमै गर्ने भनिएपछि कोभिडका कारण रोकिएको थियो ।


विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरूका परिवारसहित दुई हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न दुई करोडभन्दा बढी लाग्ने मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए । विश्व तेक्वान्दो संघले मान्यता दिएको ७२ खेल खेलाइने भएकोले सहभागी संख्या अझै बढ्न सक्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!