नखाएको विष लाग्दैन : फुटबलर अन्जन विष्ट

Posted on: 17 May, 2022

जेठ २, काठमाडाै‌ं | मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले छिट्टै टोलीमा फर्किने आशा व्यक्त गरेका छन् । 

हिजो (सोमबार)देखि २४औँ वर्षमा प्रवेश गरेका अन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको सुभकामना दिने सम्पूर्णमा धन्यवाद दिँदै आफूहरू राष्ट्रिय टोलीको विवाद चाडै समाधान हुनेमा आशावादी रहेको बताए ।


अन्जनले पोस्टमा नखाएको विष नलाग्ने भन्दै छिट्टै राष्ट्रिय टिमको जर्सीमा फर्किएर समर्थकहरूमा खुसी दिन मन भएकाे लेखेका छन् । ‘मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा मलाई सदैव साथ दिनुहुने मेरा प्यारा फ्यानहरूमा हृदयदेखिनै हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु । सायद यो जन्मदिन अरु वर्षभन्दा अलिक फरक रह्यो, आसा छ छिट्टै सबै कुरा ठिक हुनेछ । नखाएको विष लाग्दैन भन्ने लाग्छ, गल्ती नगरी कसैले पनि सजाय भोग्न नपरोस् । छिटै राष्ट्रिय टिमको जर्सी लगाई सम्पूर्ण नेपालीलाई खुसी दिन मन छ । सदैव यहाँहरुको साथ सहयोग र मायाको आस गर्दै पुनः सबैमा हार्दिक धन्यवाद ।’ अन्जनले लेखेका छन् ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अल्मुताइरीले होटल छोड्न निर्देशन दिएको भन्दै अन्जनसँगै, रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठलगायतका खेलाडीले प्रशिक्षण छोडेका थिए । 

यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानबिनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताइसकेका छन् ।

यस विवाद समाधानका लागि एन्फाले आर्मीका मेजर जनलर भिक्टर राणाको संयोजकत्वमा विदुर विष्ट र दीपक थापा गरी तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

नेपालले जेठ अन्तिम साता जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!