नेपालसँग फाइनलमा भारतका प्रशिक्षकले डगआउटमा बस्न नपाउने

Posted on: 14 Oct, 2021

असोज २८, काठमाडौँ | पहिलो पट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले शनिबार सात पटकको विजेता भारतको सामना गर्दैछ । भारतीय सहायक प्रशिक्षक सन्मुघम वेंकटेशले उपाधि भीडन्तमा भारतका लागि नेपाल बलियो प्रतिद्वन्द्वी रहेको स्विकारेका छन् । उनले नेपालविरुद्ध खेल्न सजिलो नहुने बताएका हुन् ।

भारतले आफ्नो चौथो  तथा अन्तिम लिग खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको थियो । फाइनल प्रवेशको लागि भारतलाई निश्चित जित आवश्यक थियो र यसक्रममा भारतले नेसनल स्टेडियममा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

माल्दिभ्सबिरुद्धको खेलमा  भारतका लागि कप्तान सुनील क्षेत्रीले दुई गोल गरे । यससँगै सुनिलले भारतका लागि १ सय २४ खेलमा गरेको गोल संख्या ७९ पुगेको छ । भारतले मनवीर सिंहको गोलले अग्रता लिएपछि माल्दिभ्सका तर्फबाट कप्तान अली अस्फाकले पेनाल्टीबाट गोल गरे । खेलको अन्त्यमा भारत दस खेलाडीमा सीमित भएको थियो । 

यस्तै रेफ्रीले भारतीय प्रशिक्षक इगोर स्टेमिकलाई पनि रातो कार्ड देखाएका थिए । यसै कारण उनी खेलपछि आयोजित पत्रकार सम्मेलनमा आउन योग्य भएनन् । नेपालविरुद्धको फाइनलमा पनि प्रशिक्षक स्टिमेक डगआउटमा बस्न पाउने छैनन् । लिग चरणको अन्त्यमा भारत चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल सात अंकमा दोस्रो स्थानमा ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । यस अघिको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!