आज पहिलो पटक दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दै

Posted on: 09 Sep, 2021

भदौ २४, काठमाडौँ | देशको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तराष्ट्रिय खेल खेल्न सुरु गरेको ३५ बर्षमा हालसम्म ६७ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । 

सन् १९८६ मा नेपाली राष्ट्रिय महिला टिमले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको थियो । नेपालले हालसम्म ३५ खेलमा जित, ४ खेलमा बराबरी र २८ खेलमा पराजित भएको इतिहाँस छ । हालसम्म भएको सबै खेलमा नेपाली टिमले आफ्नै देशको रंगशाला दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल खेल्ने अवसर जुटेको थिएन । तर आज नेपाली महिला टिमले दशरथ रंगशालामा खेल्ने अवसर पाएको छ । आज बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलमा नेपालले दशरथ रंगशालामा खेल खेल्न लागेको छ । 


दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेल आज साँझ ५ बजे सुरू हुँदैछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।

नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ । 

यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!