नेपालले मलेसियालाई ९ विकेटले हरायो

Posted on: 19 Apr, 2021

वैशाख ६, काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा कुशल भुर्तेलको अर्धशतकीय प्रहारमा नेपालले मलेसियालाई सहजै पराजित गरेको हो । 

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । दुई खेल खेलेको नेपाल ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । यता मलेसियाको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

खेलमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालको जीतका कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिएका हुन । 

त्यस्तै नेपालका अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडेका हुन । त्यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ थालेको मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको योगफल बनाएको थियो । मलेसियाका साद अजिजले सर्वाधिक २७ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै शारभिन मुनियान्दीले २० तथा शाफिक शारिफले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लले १÷१ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!