बैतडीको पाटन भ्यालीलाई प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेटको उपाधि

Posted on: 03 Oct, 2019

असोज १६, बैतडी | पाटनमा जारी प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले हराउँदै पाटन भ्यालीले उपाधि हात पारेको हो । 

श्रीकृष्ण माविको मैदानका टस हारेर ब्याटिङ गरेको पाटन भ्यालीले निर्धारित २० ओभरमा सुरेश जोशीको अविजित ४७ रनको मद्दतमा नौ विकेट गुमाएर १७२ रन बनायो । स्टारका लागि किरन चन्दले चार तथा पङ्कज चन्दले दुई विकेट लिए । एक सय ७३ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको पाटन स्टारले १७ ओभरमा १०६ रन मात्र बनायो । उसका लागि किरन चन्दले सर्वाधिक ३१ रनको योगदान दिए । बलिङ्तर्फ पाटन भ्यालीका पारस विष्ट र धीरेन्द्र चन्दले तीन/तीन विकेट लिए । पाटन भ्यालीका सुरेश जोशी म्यान अफ द म्याच भए । 

उपाधिसँगै पाटन भ्यालीले रु ३० हजार तथा उपविजेता पाटन स्टारले रु २० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा व्यक्तिगत १४२ रन तथा सात विकेट लिएका पाटन भ्यालीका वीरेन्द्र विष्ट म्यान अफ द सिरिज भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा व्यक्तिगत १० विकेट लिएका पाटन स्टारका हेमन्त चन्द उत्कृष्ट बलर भए भने १३४ रन बनाएका बसन्तपुरका जगदीश लुहार उत्कृष्ट  ब्याट्सम्यान भए । उनीहरुले जनही रु तीन हजार पुरस्कार पाए । विजेता, उपविजेता टोली तथा खेलाडीलाई सांसद दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए । पाटन नगरपालिकाको आयोजनामा असोज ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!