कर्णाली प्रिमियर लिग: चार समूह सेमिफाइनलमा

Posted on: 01 May, 2019

बैशाख १८, सुर्खेत । कर्णाली प्रिमियर लिग दोस्रो श्रृखलामा चार समूह सेमीफाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिग चरणको अन्तिम खेलमा समूह बीमा रहेको शसस्त्र प्रहरीको एपिएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई हराउँदै समूह विजेता बने पछि सेमिफाइनलमा पुग्ने समूहको टुङ्गो लागेको हो । यसअघि समूह एबाट घरेलु टोली कर्णाली– ११ समुह विजेता र  आर्मी क्लव उपविजेताको रुपमा सेमिफाईनल पुगेका छन् । समूह बिबाट न्यू होईजन बुटवलले सेमिफाइनल यात्रा तय गरी सकेको थियो ।  


बुधबार भएको लिग चरणको अन्तिम खेलमा समूह बीमा रहेको शसस्त्र प्रहरीको एपिएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले हराएको छ । जित्नै पर्ने दबाब रहेको महेन्द्रनगर यो हारसंगै समूह चरणबाटै बाहिरिएको छ भने न्यू होराईजन बुटवल उपविजेता बन्दै सेमीफाईनल यात्रा तय गर्न सफल भएको छ ।

एपीएफबाट १४४ रनको लक्ष्य पाएको महेन्द्रनगरले निर्धारित २० ‌ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरका सन्तोष भट्टले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेप पनि टोलीको हार टार्न भने सकेनन् । तीन विकेट लिएका भट्टले ३५ बलमा तीन छक्का र चार चौंका सहित ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

महेन्द्रनगरका हेमन्त कार्कीले ३० रन जोड्दा एपीएफका कमलसिंह ऐरीले तीन तथा भुवन कार्कीले दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको बिभागीय टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफकालागि सुमित मर्हजनले सर्वाधिक २६ र भुवन कार्कीले २० बनाए पनि अरुले खेल्न सकेनन् ।

महेन्द्रनगरका आकाश चन्द र सन्तोष भट्टले उत्कृष्ट बलिङ गर्दै समान तीन तीन विकेट हात पारे । समान चार ओभमा चन्दले १९ र भट्टले २० रन मात्र खर्चेर तीन तीन विकेट हात पारेका थिए । समूह एबाट घरेलु टोली कर्णाली– ११ समुह विजेता र  आर्मी क्लव उपविजेताको रुपमा सेमिफाईनल पुगेका छन् । शुक्रबार (भोली) हुने पहिलो सेमीफाईनलमा समूह एको बिजेता आयोजक कर्णाली–११ र समूह बीको उपविजेता न्यू होईजन बुटवल भिड्ने छन् । दोस्रो सेमीफाईनलमा समूह बीको विजेता एपीएफ र समूह ए को उपविजेता आर्मी आमने सामने हुनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!