बैतडीमा जारी क्रिकेट खेलमा त्रिपुरा क्रिकेट क्लब फाइनलमा

Posted on: 15 Apr, 2018

बैशाख २, बैतडी (रासस) | त्रिपुरा क्रिकेट क्लब, यहाँ जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा आज भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । 

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सवै विकेट गुमाउँदै १५३ मात्र बनायो । त्रिपुराका लागि तेज चन्दले सतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए । 

बलिङतर्फ खोड्पेका कृष्ण विष्टले दुई विकेट लिए । 

दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए । 

बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । सतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए । 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!