बैतडी: मेयरकपको क्रिकेटको सेमिफाईनलमा देहिमाण्डौं

Posted on: 18 Jan, 2018

बिनोद विष्ट/माघ ४, बैतडी । रिषिकेश बोहराको उत्कृष्ट प्रदर्शनले देहिमाण्डौं, बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहीवार सम्पन्न खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुरालाई ६ विकेटले पाखा लगाउदै दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौंले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

टस हारेर ब्याटिङ्गको निम्ता पाएको त्रिपुराले निर्धारित २० ओभरमा लोकेन्द्र थापाको सर्वाधिक २३ रनको मद्दतमा १०२ रन बनाएको थियो । देहिमाण्डौंका बसन्त बोहराले ३ तथा रिषिकेश बोहराले २ विकेट हात पारे ।


१०३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १० ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको होे । देहिमाण्डौंका दिपक बोहराले सर्वाधिक २९ रन जोडका थिए । 

यस्तै खडक बोहराले २० तथा रिषिकेश बोहराले नटआउट ७ रन बनाए । त्रिपुराका गणेश थापाले २ विकेट हात पारेका थिए । खेलका म्यान अफ दि म्याच रिषिकेश बोहरा भए ।

प्रतियोगिता अन्र्तगत शुक्रवार समुह बी का २ खेल हुने भएका छन् । पहिलो खेल बिहान ९ बजे वडा नम्बर १ गुरुखोला र वडा नम्बर १० भिड्नेछन् भने मध्यान्ह साढे १२ बजेपछी हुने दोस्रो खेलमा वडा नम्बर १ गुरुखोला र वडा नम्बर ४ आमनेसामने हुने भएका छन् ।  

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । 

टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद , ट्रफी र प्रमाणपत्र , द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।  माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहेको छ ।

बुधवारदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!