नुवाकोटमा प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध किन लगाइयो ?

Posted on: 09 May, 2017

बैशाख २६, नुवाकोट । जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ । 

चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा आक्रमणमा उत्रिएको देवीघाट जालपा क्बल र त्यसका प्रशिक्षक विनोद चित्रकार तथा खेलाडीहरु राजाराम चित्रकार र नवीन चित्रकारलाई दुई वर्षसम्मको प्रतिबन्ध र रु १५ हजार तिराउने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० नुवाकोटका महासचिव विष्णुप्रसाद चालिसेले जानकारी दिनुभयो । 

एन्फा नुवाकोटको बैठकले वैशाख १३ गते भएको खेलमा अनुशासनहीन काम गरेको भन्दै क्लब, प्रशिक्षक र खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ तिराउने निर्णय गरेको जनाएको छ । 

खेल सञ्चालनको समयमा मर्यादा विपरीत क्रियाकलाप गर्ने देवीघाट जालपाका समर्थक विकास चित्रकार, राकेश चित्रकार, नवीन चित्रकार, अरुण चित्रकार र विक्रम थापामगरमाथि समेत कारबाहीको माग एन्फाले गरेको छ । 

क्वाटरफाइनलको खेलमा चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा देवीघाट जालपाले प्रहार गरेको बल गोलमा परिणत भए पनि रेफ्री सहदेव श्रेष्ठले अफसाइड दिएपछि गोलको माग गर्दै प्रशिक्षक र खेलाडी विवादमा उत्रिएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!