लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको ७–० को फराकिलो जित

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओविरुद्ध विश्वविजेता अर्जेन्टिनाले ७–० को फराकिलो जित निकालेको छ ।  बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । 


त्यस्तै, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक/एक गोल गरे ।  

योसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । मेस्सीले अहिलेसम्म १०२ गोल गरेका छन् । उनीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इरानका अली दाई रहेका छन् ।

खेलको २०औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । २३औँ मिनेटमा निकोलस गोन्जालेजको गोलबाट अर्जेन्टिना २–० ले अगाडि बढ्यो । 

३३ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । ​३५औँ मिनेटमा एन्जोको गोलबाट अर्जेन्टिनाले ४–० को फराकिलो अग्रता पायो । ३७ औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिना ५–० ले अघि बढ्यो । मेस्सीको यो ३७औँ ह्याट्रिक हो ।


दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो । खेलको ७८औँ मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ६–० को अग्रता दिलाए । ८७औँ मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई ७–० को फराकिलो जित दिलाए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!