राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई तिलोत्तमा नगरपालिकाको नगदसहित सम्मान

Posted on: 26 Mar, 2023

चैत १२, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो ।


दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनियर टोलीले विश्व कप छनोट खेल्न पाउने भएको छ भने यू-१९ का क्याप्टेन खनालले टीमलाई जीत दिलाउँदै सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट गराउन सफल भएका छन् ।

खेलाडीहरुलाई तिलोत्तमाका मेयर रामकृष्ण खाण, उपमेयर जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे ।

उक्त अवसरमा मेयर खाणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकुदको क्षेत्रमा लगानी गरेको उनले बताए ।

उपमेयर चौधरीले खेलाडीहरुले नेपालसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गरिन् । खेलाडी उत्पादन गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको उनको भनाइ छ ।

सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी भुर्तेलले सबैको साथ र समर्थनले नै आफू र आफ्नो टीमले सफलता हात पारेको उल्लेख गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!