रोकिएन खेलाडी पलायन, रजिन र सुजलपनि अष्ट्रेलियातर्फ

Posted on: 23 Mar, 2023

चैत ९, काठमाडौँ | पछिल्लो समय नेपाली खेलाडीहरू विदेशिने क्रम बढेको छ । असोजको पहिलो साता सिनियर तथा उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गरिसकेका प्रतिभावान् खेलाडी अस्ट्रेलियातर्फ आफ्नो भविष्य खोज्दै उडेका थिए।  एक पुस्ताका लगभग सबै खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् ।

त्यसैमा आज नेपाली राष्ट्रिय टिमका लेफ्ट ब्याक रजिन धिमाल र विङ्गर सुजल श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया उड्ने भएका छन् ।

मच्छिन्द्र फुटबल क्लबबाट शहीद स्मारक एडिभिजन लिग खेलिरहेका दुवै खेलाडी आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछन् । लगातार दुई पटकको च्याम्प्यिन मच्छिन्द्रको कप्तान र राष्ट्रिय टीमको पूर्व कप्तानसमेत रहेका सुजलले सन् २०११ मा भुटानविरुद्धको खेलमा राष्ट्रिय टीमबाट डेब्यू गरेका थिए । नेपालका लागि ३७ अन्तर्राष्ट्रिय खेल खेलेका सुजलले तीन गोल गरेका छन् ।

यस्तै, रजिनले सन् २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गर्दै नेपालका लागि १० खेल खेलेका छन् ।

गत महिना सुनिल बल अष्ट्रेलियातर्फ लागेका थिए । यो एक वर्षमा एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी अष्ट्रेलिया पलायन भएसँगै नेपाली टिममा अनुभवि खेलाडीको अभाव खड्कीन थालेको छ ।

अस्ट्रेलियामा राम्रो आम्दानी मात्र होइन, भविष्यसमेत सुनिश्चित हुने देखी प्रत्येक महिनाजसो नेपालका राम्रा तथा उदीयमान खेलाडी त्यसतर्फ उडिरहेका छन् । यही क्रम जारी रहँदा निकट भविष्यमा हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक दर्जनभन्दा बढी खेलाडी घरेलु लिगमा देखिनेछैनन् ।

नेपालको घरेलु फुटबल संरचना बलियो नहुँदा र वेला–वेलामा हुने फुटबल विवादले राष्ट्रिय टोलीका वर्तमान ठूला अनुहारसमेत विदेश पलायन हुने अवस्थामा छन् । नेपालमा खेलेरै जीवन निर्वाह गर्न मुस्किल पर्न थालेपछि खेलाडीले दोस्रो विकल्पका रूपमा बिदेसिने बाटो रोजेका हुन् । नेपाली खेलाडीहरू अस्ट्रेलियामा एक दिन खेल्ने र बाँकी ६ दिन काम गर्छन् । सप्ताहन्तमा हुने अष्ट्रेलियाको स्थानीय लिगबाट खेलाडीले मोटो रकम पाउँदै आएका छन् । यसै मोटो रकममा उनीहरूलाई लोभ्याएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!