बहराइनका राजपरिवार सहितको टोली सगरमाथा आरोहण गर्न नेपालमा

Posted on: 15 Mar, 2021

चैत २,काठमाडौँ । बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आएको हो ।


नेपाली समय अनुसार सोमबार १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ ।

टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको दुइ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्ने कार्यक्रम छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई पर्वतारोहणमा सफलताको शुभकामना दिएको छ ।

उक्त टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!