सन् २०२१ : बेलायती प्रधानमन्त्री भारत आउने देखि अमेरिकी प्रशासनमा वाइडेनको इन्ट्री

Posted on: 08 Jan, 2021

जीवन भण्डारी | पुस  २४, काठमाडौ | कोरोना महामारीबाट गुज्रिदै सन् २०२० लाई विदाई गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ बर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस भन्ने अपेक्षा व्यक्त गरेका छन् । जनअपेक्षा र अवितव्य हुने हुने कुरा एउटा पाटो हो भने नियमित र संभावित अवस्था अर्को पाटो हो । धेरै कार्यक्रमहरुमा विद्युतीय माध्यमहरुको प्रयोगलाई प्राथमिकता दिइने भएको छ । केही अनुमान गर्न सकिने नियमित र संभावित घटनाहरुको यहाँ चर्चा गरिएको छ । 

अमेरिकी प्रशासनबाट ट्रम्पको विदाई र वाइडेनको प्रवेश ः 

सन् २०२१ सुरुको ठूलो घटनाको रुपमा अमेरिकी प्रशासनमा हुने परिवर्तनलाई लिन सकिन्छ । यही जनवरी २० तारिखमा अमेरिकी प्रशासनबाट राष्ट्रपति ट्रम्पको विदाइ हुने छ भने नव निर्वाचित राष्ट्रपति जो वाइडेनको प्रवेश हुनेछ । असामान्य र अस्वभाविक तरिकाले चलिरहेको अमेरिकी प्रशासन नयाँ नेतृत्व आएसँगै पूर्ववत अवस्थामा फर्किने प्रतिक्षा धेरैले गरेका छन् । यही जनवरी ६ तारिखमा अमेरिकी संसदमा ट्रम्पका समर्थकले गरेको हिंसात्मक प्रदर्शन अमेरिकी राजनीतिमा कालो धब्बाका रुपमा रहने भएको छ । नयाँ बर्षको पहिलो हप्ताबाटै नमिठो राजनीतिक तथा हिंसात्मक घटनाक्रम सुरुवात भएको छ । 

कोरोना न्युनिकरण हुने अपेक्षा 

सन् २०२० मा सवैभन्दा ठूलो समस्याको रुपमा रहेको कोरोना महामारी सन् २०२१ मा भने कम हुने अपेक्षा र प्रार्थना धेरैले गरेका छन् । सवै क्षेत्रलाई तहसनहस पारेको यो महामारी न्युनिकरणका लागि विभिन्न खोपहरु विकास हुने क्रम चलिरहेकोले यस बर्ष सवैलाई खोपको उपलब्धता हुने सुखद समाचारको प्रतिक्षा भइरहेको छ । कतिपय देशहरुमा अहिले लगाउन थालिएको खोप आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सिफारिस गरिएको खोप भएकाले सामान्य अवस्थामा पनि सवैले लगाउन मिल्ने खोप आउने विश्वास गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण पूर्ण रुपमा अन्त्य हुने नदेखिएकाले न्युनिकरणमा नै चित्त बुझाउन पाइने अपेक्षा गरिएको छ । 

पूर्व निर्धारित प्रतियोगिता तथा प्रदर्शनी हुने 

सन् २०२० मा हुने तय भएका धेरै खेलकुद प्रतियोगिताहरु कोरोना महामारीका कारण  भएनन । तर अहिले महामारी न्युनिकरण हुदै जाने संभावना देखिएकाले गत बर्ष हुन नसकेका खेलकुँद प्रतियोगिताहरु यस बर्ष हुने संभावना रहेको छ । कतिपय आयोजकहरुले गत बर्षको कार्यक्रमलाई यस बर्ष संचालन गर्ने गृहकार्य पनि गरिरहेका छन् । विषेश गरेर जापानमा हुने तय भएको गृष्मकालीन ओलम्पिक प्रतियोगिता कोरोनाकै कारण सरेकाले तयारी भने उनीहरुले जारी राखेका छन् । विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुन ११ देखि जुलाई ११ मा आयोजना हुँदै छ । सन् २०२० बाट सरेको यो प्रतियोगिता युइएफए युरोपियन च्याम्पियनसिप सँगसँगै आयोजना हुनु फुटबल फ्यानका लागि खुसीको खबर हो । महिला युरोपियन च्याम्पियनसिप भने सन् २०२२ मा आयोजना गर्ने तय गरिएको छ । सन् २०२१ मा विभिन्न फिल्म फेस्टिभलहरुको पनि तयारी भइरहेको छ । ती फेस्टिभलहरुमा सयौँ फिल्मकर्मीहरु सहभागी हुनेछन् । 

विश्व नेताहरुको जमघट हुने : 

विश्व नेताहरु सहभागी हुने धेरै कार्यक्रम पनि गत वर्ष स्थगित भए । ती कार्यक्रमहरु यस बर्ष हुने संभावना रहेको छ । संयुक्त राष्ट्रसंघको महासभा गत बर्ष भर्चुअल माध्यमबाट सञ्चालन गरिएपनि यस बर्ष नेताहरुको उपस्थितिमै हुने अपेक्षा गर्न सकिन्छ । सिंगापुरको डाभोसमा हुने विश्व आर्थिक सम्मेलन मे १३ देखि १६ सम्म हुने भएको छ । विश्वभरी महामारी फैलिएकाले मे १८ देखि १९ सम्म हुने विश्व स्वास्थ्य सम्मेलनलाई पनि महत्वका साथ हेरिएको छ । त्यस बाहेक जी ८, जी २० लगायतका धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि यस बर्ष हुने देखिएको छ । धेरै सम्मेलन तथा कार्यक्रमहरु दिर्घकालिन महत्वका भएर पनि अघिल्लो बर्ष हुन नसकेकाले यस बर्ष गर्ने तयारीमा आयोजकहरु लागेका छन् । 

बेलायती प्रधानमन्त्री भारत आउने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन यस बर्ष भारत भ्रमणमा आउने तय भएको छ । जनवरी २६ तारिखमा मनाइने भारतको गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा उहाँको भ्रमण हुने भएको हो । भ्रमणका क्रममा उहाँले भारतीय उच्च अधिकारीहरुसँग व्यापार, सुरक्षा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा पनि छलफल गर्नुहुने भएको छ । 

 चिनियाँ कम्युनिष्ट पार्टीको सतबार्षिकी  

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको छ । सतबार्षिकीलाई चिनियाँ कम्युनिष्ट पार्टीले भव्यरुपमा मनाउने र कोरोनापछिको प्रगति पनि विश्वलाई देखाउनेगरी अवसरको रुपमा १००औँ स्थापना दिवसलाई उपयोग गर्ने भएको छ । जुलाई १ मा स्थापना दिवसका अवसरमा गरिवी अन्त्यको घोषणा गर्ने तयारी पनि चीनले गरेको छ । तर कोरोनाका कारण लक्ष्य पूरा हुन बाधा पुगेको पनि हुनसक्छ । त्यो भने अझै स्पष्ट भइसकेको छैन । 

राजकुमारी डायनाको ६०औँ जन्मोत्सव 

बेलायती राजकुमारी डायनाको ६० औँ जन्मोत्सव यसै बर्ष मनाइने भएको छ । जन्मोत्सवालाई विषेश बनाउन उहाँका छोराहरू राजकुमार विलियम र ह्यारीले संयुक्त रुपमा आफ्नी आमाको सम्मानमा सालिक अनावरण गर्नुहुने भएको छ । उहाँहरु हुर्किएको सन्केन गार्डेनमा डायनाको सालिक बनाइएको छ । राजकुमार विलियम लन्डन र ह्यारी लसएन्जल्समा बस्ने गरेको भएपनि उहाँहरु आमाको सालिक अनावरणका लागि सन्केन गार्डेनमा जाने विषयलाई पनि महत्वका साथ हेरिएको छ । 

माथी उल्लेखित बाहेक यसैबर्ष धेरै देशमा निर्वाचन हुदै नयाँ सरकार बन्ने भएका छन् भने दुई पक्षिय विवाद र शान्ति स्थापनाका प्रयासहरुले पनि निरन्तरता पाउने देखिएको छ । त्यस्तै हरेक बर्ष विभिन्न ठाउँमा हुने दुखद् ठूला घटनाहरुका बारेमा भने पुर्वानुमान गर्न नसकिएपनि त्यस्ता घटनाहरु नहोलान भन्न सकिदैन ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!