आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

Posted on: 19 Aug, 2020

भदौ ३, काठमाडौँ | प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँछन् । 

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

आजको दिन उखेलेको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् ।

आज बुवाको मुख हेर्ने दिन पनि हो । बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने गरिन्छ । बुवा नहुनेहरू बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् । काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर, रसुवाको वेत्रावती लगायत ठाउँमा आज विशेष मेला लाग्ने गरेको भए पनि यो वर्ष कोरोनाको सङ्क्रमणका कारण भिडभाड र मेला नगर्न सरकारले निर्देशन दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!