वैदेशिक रोजगारीमा जाने संख्याका आधारमा धनुषा एक नम्बरमा, कुन जिल्ला कति औं नम्बरमा ?

Posted on: 02 Aug, 2020

मनोज पराजुली । साउन १८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्याका आधारमा धनुषा जिल्ला एक नम्बरमा परेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार गत वर्ष विदेश गएका संख्याका आधारमा धनुषा जिल्ला एक नम्बरमा परेको हो ।

गत वर्ष वैदेशिक रोजगारीका लागि १ सय २७ देशमा जान ३ लाख भन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । विभागले सार्वजनिक गरेको वार्षिक श्रम स्वीकृति विवरण अनुसार संस्थागत, व्यक्तिगत श्रम स्वीकृति, पुन: श्रम स्वीकृति र वैधानिकरण गरि ३ लाख ६८ हजार ४ सय ३३ जनाले  श्रम स्वीकृति लिएका छन् । 

म्यानपावर कम्पनी मार्फत १ लाख ७२ हजार २ सय ६६, वैधानीकरण मार्फत ८ हजार ५१४, पुन : श्रम स्वीकृति लिएर १ लाख ७७ हजार ९८० जना र ७ हजार ६३६ जनाले व्यक्तिगत श्रम  स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेहरुमध्ये ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला रहेका छन् । 

धनुषा एक नम्बरमा 

गत वर्षमा विदेश जानका लागि सबैभन्दा धेरै धनुषा जिल्लाका श्रम स्वीकृति पाएका छन् । यो जिल्लाका कुल २० हजार ३ सय जनाले श्रम स्वीकृति पाएकोमा १० हजार २ सय जना नयाँ छन् । २० हजारमध्ये महिलाको संख्या भने ८२ जना मात्रै छ । 

संख्याका आधारमा दोश्रोमा रहेको झापाका १८ हजार ५ सय, तेश्रोमा रहेको सिराहाका १६ हजार, चौंथोमा रहेको मोरङका १५ हजार ३ सय जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै पाचौं नम्बरमा परेको सुनसरीका ११ हजार ५ सय, छैटौमा परेको महोत्तरीका १३ हजार ८ सय, सातौंमा परेको नवपरासीका १२ हजार ६ सय जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका संख्याको आधारमा रुपन्देही आठौँ नम्बरमा परेको छ । रुपन्देहीका १० हजार ६ सयले स्वीकृति लिएर विदेश गएका छन् भने बाँकी अन्य जिल्लाका १० हजार भन्दा कमको संख्यामा स्वीकृति लिएका छन् ।

म्यानपावरको पहुँच २२ देशमा मात्रै 

सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा कामदार पठाउन ११० वटा देश खुल्ला गरेको छ जसमध्ये इराकमा कामदार पठाउन रोक लगाइएको छ । तर म्यानपावर कम्पनीले भने २२ वटा देशमा मात्रै श्रमिक पठाएका छन्। गत वर्ष रोजगारीका लागि १ सय २७ देशमा नेपाली पुगेका छन् ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार म्यानपावर कम्पनीले २२ देशमा १ लाख ७२ हजार २ सय ६६ जनालाई विदेश पठाएका छन् । यी मध्ये १५ हजार १ सय २९ जना महिला छन्।

म्यानपावर व्यवसायीले श्रम स्वीकृति निकालेका २२ देशमध्ये  मध्ये खाडीका तीन देश र मलेसिया नै गत वर्ष पनि प्रमुख श्रम गन्तव्य रहेका छन् । म्यानपावर मार्फत  युएई ४६ हजार ५४२, साउदी ३९ हजार २३६, मलेसिया ३८ हजार ९० र कतार २७ हजार ५१ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तै अफगानिस्तान १४०, बहराइन ३०४८, ब्रुनई दारुस्लाम १०७, साइप्रस १ हजार ४४२, हङकङ ८५, जापान १८९, जोर्डन २ हजार ३७२, कुवेत ८ हजार ४०० र मकाउ २३२ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मालदिभ्स ६, माल्टा १५८, मौरिसस ५८, ओमान १ हजार ६१६, पानामा ७३, पोल्याण्ड १२, पोर्चुगल १०८, रोमानिय १ हजार ४४२ र टर्कीको लागि ५०२ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । 

आर्थिक वर्ष २०७५/०७६ मा २ लाख ८ हजार ३ सय ५२ जना र आर्थिक वर्ष २०७४/०७५ मा ३ लाख ५४ हजार ८२ जना म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका थिए। 

कुन देशमा कति ? 

गतवर्ष श्रम स्वीकृति लिएका जम्मा संख्याका आधारमा सबैभन्दा अगाडी युएई रहेको छ । युएई पछि साउदी अरेबिया, कतार, मलेसिया रहेका छन् । युएईका लागि ९३ हजार ४२४, साउदीका लागि ८२ हजार १६३, कतारका लागि ८१ हजार ५६७ र मलेसियाका लागि ५९ हजार ७१४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कुवेतका लागि १६ हजार ८६२, बहराइनका  लागि ६ हजार १८९, ओमानका लागि ४ हजार १३९, जापानका लागि ३ हजार ७२८, जोर्डनका लागि २ हजार ६२७ जना, रोमानियाक अलागी २ हजार २८, साइप्रसका लागि १ हजार ९९५ जनाले श्रम स्वीकृति लिएका छन् । 

त्यस्तै गरि माल्टाका लागि १ हजार ८५०, मकाउको लागि १ हजार ५३७ जना, माल्दिभ्सको लागे १ हजार ३६ जना, टर्कीको लागि १ हजार ५५ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका अन्य देशहरुमा अफगानिस्तान ९२४, क्रोसिया ६४६, प्रोचुगल ६२७, पोल्याण्ड ४४८, सेसेल्स ४९४, इजरायल ३४२, ब्रुनई दारुस्लाम ४३१ जना रहेका छन् ।

अघिल्लो वर्ष भन्दा घट्यो 

अघिल्लो आर्थिक वर्ष (२०७५/७६) को तुलनामा गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको संख्यामा २७ दशमलव ५९ प्रतिशतले गिरावट आएको छ । २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २ जना विदेशिएका थिए । गत वर्ष ३ लाख ६८ हजार ४ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् भने श्रम स्वीकृति लिएका मध्ये अझै केहि विदेश जान बाँकी नै छन् । गत आवमा कोरोना भाइरसका कारण फागुन २९ बाट श्रम स्वीकृति बन्द हुदा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्यामा गिरावट आएको हो । 

काम गर्न नेपाल आउने बढे 

अघिल्लो आर्थिक वर्ष (२०७५/७६) को तुलनामा गत आर्थिक वर्षमा नेपालमा काम गर्न श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा काम गर्नको लागि कुल २ हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् । 

महिला ३२६ र पुरुष १७२४ जना गरि जम्मा २ हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् । १४२  महिला र  ९४९ पुरुषगरि  १ हजार ९१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने १८४ महिला र ७७५ पुरुष गरि ९ सय ५९ जनाले पुन श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा १ सय १९ महिला र ८ सय ६२ पुरुष गरि कुल १९ सय ८१ जनाले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका थिए ।श्रम स्वीकृति लिएका मध्ये अधिकांश चिनिया कामदार रहेको विभागका प्रवक्ता मणिनाथ गोपले साझा सवाललाई जानकारी दिए ।

श्रम स्वीकृति लिनेहरुको जिल्लागत विवरण हेर्नुहोस् 





यस बिषयमा तपाइको प्रतिक्रिया...!