ज्वालामुखी ५ मा सामुदायिक भवन उद्घाटन सम्पन्न (फोटो फिचर)

Posted on: 18 Jan, 2020

माघ ३, धादिङ । स्थानीय युवा समाजसेवी तथा पर्यटन व्यवसायमा सक्रिय रामकृष्ण तिमल्सिनाको पहल धादिङको ज्वालामुखी ५ गैरीगाउँमा सामुदायिक भवन निर्माण भएको छ | उक्त भवनको बिहिबार एक बिशेष समारोहका बीच उद्घाटन गरिएको हो ।



उक्त भवन क्यानडीयन नागरिकहरु RILEY BOUDREAU, JOSH WEEKS, EJ LIN तथा उनीहरु आवद्ध संस्था STAND WITH NEPAL CANADA को आर्थिक सहयोगमा साविक खरी गाविस ७ गैरीगाउँमा निर्माण गरिएको हो | अकलादेवी कृषक समूह तथा सहारा युवा क्लवको लागि १० लाखको लागतमा निर्माण गरिएको उक्त सामुदायिक भवन गाउँपालिका अध्यक्ष  विनोदराज तिमल्सिनाले उद्घाटन गरे ।


भवन उद्घाटन समारोहका बीच तिमल्सिनाकै पहलमा अमेरिकाबाट सहयोग भएको दुई वटा सिलाई मेसिन र नरेन्द्र तिमल्सिनाको पहलमा मेडीसिटि अस्पतालबाट प्रदान भएको फस्ट एडको सामग्री समेत स्थानीयलाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बोल्दै वक्ताहरुले दुई दशक बढी पर्यटन क्षेत्रमा कार्यरत तिमल्सिनाले आफ्नो गाउँ र समाजको विकासको लागि गर्दै आएको कार्यको प्रसंशा गरे । तिमल्सिनाले भूकम्प पछि आफ्नो गाउँमा गरेको सहयोग तथा स्थानीय स्तरमा विकासको लागि गरेका पहलकदमीले आफूलाई समाजसेवाको कार्यमा थप हौशला मिलेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय जनप्रतिनिधिहरुलाई अनावश्यक ठाउँमा नभई जनताको पहिलो आवश्यकतालाई प्राथमिकता राखेर मात्र विकास निर्माणको कार्यमा बजेट खर्चन सुझाव दिए । 


कार्यक्रममा गाउँपालिका अध्यक्ष बिनोद तिमल्लेसिनाले स्थानीय युवाहरुको सक्रियतामा हुने बहुउपयोगी कामको प्रसंशा गरे । उनले गाउँपालिकाको बजेटबाट भन्दा स्थानीयको सक्रियामा हुने कामको उपलब्धि बढी हुने गरेको पाएको भन्दै स्थानीय स्तरमा जनतालाई बहुउपयोगी हुने योजनाहरुलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गर्दै आएको बताए  । त्यस्तै स्थानीय वडाध्यक्ष कृष्ण काप्रीले साविक खरी ७ का युवाहरुको सक्रियताले माघे सक्रान्तिको दिन खरीकै केन्द्रमा अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न भएको स्मरण गर्दै यही स्थानका स्थानीयले सामुदायिक भवन पाएकोमा खुसि व्यक्त गरे ।


त्यस्तै कार्यक्रममा बोल्दै अन्नपूर्ण माविका प्रधानाध्यापक देवेन्द्र अधिकारीले भवन निर्माणका पहलकर्ता रामकृष्ण तिमल्सिनामा जस्तै अन्य युवाहरुमा पनि गाउँ विकास र सामाजिक सेवाको भावना हुनुपर्ने बताए । उनले सानु थापाको पहलमा इटालीबाट अन्नपूर्ण माध्यामिक विद्यालयको भवन निर्माणार्थ भएको पहललाई स्मरण गर्दै पछिल्लो समय गाउँको विकासमा युवाहरुको सक्रियता बढ्नुले आफूलाई गर्व महशुस भएको बताए । 

सहारा युवा क्लब तथा अकलादेवी कृषक समूहको आयोजनामा भएको उद्घाटन कार्यक्रममा समाजसेवी रामकृष्ण तिमल्सिनालाई गाउँपालिका अध्यक्ष मार्फत बिशेष सम्मान प्रदान गर्दै कदरपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिना, वडाध्यक्ष कृष्ण प्रसाद काप्री, नेकपा धादिङका जिल्ला सदस्य हरि थापा, नेपाली काँग्रेसका जिल्ला सदस्य नरेन्द्र भट्ट लगायत स्थानीय जनप्रतिनीधिहरु र स्थानीय समाजसेवीहरुको आतिथ्यता रहेको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!