भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

Posted on: 19 Nov, 2019

मङ्सिर ३,एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका थिए | उनी चिकित्सकीय उपचारको लागि लण्डन उडेका छन् | पाकिस्तानका तीन पटकका प्रधानमन्त्री शरिफलाई रोग प्रतिरोधात्मक लगायत कयैन स्वास्थ समस्याले सताइरहेको थियो |

सोमबार इमरान खानको सरकारले अदालतको निर्णयलाई सदर गरेको थियो | शनिबार लाहोर उच्च अदालतले उनीमाथि कायम भ्रमण प्रतिबन्ध फुकुवा गरेपछि उनको विदेश यात्राको बाटो खुलेको थियो | यसअघि खानको सरकारले शरिफ विदेश जानको लागि ४.४ करोड अमेरिकी डलर जमानत राख्नुपर्ने माग गरेको थियो | त्यस विरुद्ध नवाजको परिवार अदालत गएको थियो |

अदालतले भने उक्त रकम जमानत नराखी विदेश उड्न सक्ने निर्णय सुनायो | अघिल्लो महिना नवाजको रगतको प्लेटलेट्सको मात्रा निकै कम भएको थियो । स्वस्थ मान्छेमा १,५०,००० हुनुपर्नेमा उनको रगतमा प्लेटलेट्सको संख्या १६ हजारमा झरेको थियो । 

त्यस्तै ६९ वर्षे नवाजलाई मुटुको समस्या छ जसको उनले औषधी सेवन गरिरहेका छन् । त्यसबाहेक उनमा मधुमेह र मिर्गौलाको समस्या पनि छ ।उनको उपचार गराउन संलग्न सरकारी र निजी दुवै चिकित्सकले उनको रोगको उपयुक्त उपचारको व्यवस्था पाकिस्तानमा नभएकाले विदेशमा उपचार गराउन सिफारिस गरेका थिए । शरिफ ‘सुविधासम्पन्न एयर–एम्बुलेन्स’मा दोहा हुँदै लण्डन गएका हुन् । शरिफको परिवारको लण्डनमा पनि घर छ । 

देशका धनाढ्य उद्योगपति परिवारका सदस्य शरिफमाथि प्रधानमन्त्री हुँदा भ्रष्टाचार गरेको मुद्दा परेको थियो । सन् २०१८ डिसेम्बरमा अदालतले उनलाई साउदी अरबमा रहेको स्टिल मिलको स्वामित्वसम्बन्धमा भ्रष्टाचार गरेको भन्दै सात वर्षको जेल सजाय दियो । 

सजायपछि शरिफले आफू निदोर्ष रहेको बताउँदै सेनाले आफूसँग राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका थिए । शरिफले अदालतसँग आफू चार हप्ताभित्र अथवा चिकित्सकले ठिक भएको प्रमाणित गरेपछि फर्कने प्रतिवद्धता जनाएका थिए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!