आँखा छल्दैमा, पाइँदैन सुख...

Posted on: 15 Jun, 2019

नारायण ढुङ्गाना | “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।”

ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै प्रहरीसँग सिफारिश छैन । कुनै ट्राफिकलाई चिनेको पनि छैन, तर एक्कासी भेट्न आउनुस् भनेर फोन आउँछ । उहाँ अच्चममा पर्नुभयो । “आ होइन होला ! कसैले झुक्याउन फोन गर्यो होला”, राजकुमारको मनमा यस्तैयस्तै विभिन्न विचार खेल्न थाल्यो ।

विषय बुझ्ने उहाँको छटपटी रोकिएन । साथीभाइलाई फोन गरेर सोध्नुभयो । आफूलाई कल आएको नम्बरबारे चिनजानका प्रहरीलाई सोध्नुभयो । त्यसपछि बल्ल ट्राफिक प्रहरीबाटै फोन आएको उहाँलाई पक्का भयो । फोन चाहिँ किन आयो त ? बुझ्नका लागि काम छाडेर हस्याङ्फस्याङ गर्दै उहाँ महाशाखा पुग्नुभयो । 

अभिलेख हेरेर प्रहरीले भने, “ल तपाईंले लेन मिच्नुभएको छ”, “मैले कसरी लेन मिच्नु, घरमा काम गरिरहेको मान्छे”, उहाँले प्रतिवाद गर्नुभयो । “एक्कै छिन् पक्नुस् है”, सिसी टिभीको श्रव्यदृष्य खोल्दै खोजतलास तथा सिसीटिभी कारवाही शाखाका एक जना प्रहरीले भन्नुभयो ।

अघिल्लो दिन ठीक ६ बजेर १५ मिनेट १० सेकेण्डमा माइतीघरमा लेन मिचेको श्रव्यदृष्यबाट प्रष्ट देखियो । त्यसपछि उहाँ मलिन अनुहारमा रशिद लिएर ट्राफिक कक्षा लिनतिर लाग्नुभयो । यो प्रतिनिधि घटना हो । महाशाखामा अहिले दैनिक सयौँ यस्ता घटना आइरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पठाइएको अभिलेख केलाउँदैमा सिसीटिभी शाखाका प्रहरीलाई भ्याइनभ्याइ छ ।

शुक्रबार उक्त शाखामा यसैगरी बोलाइएका मानिसको भीड थियो । सामान हराएर खोजतलासका लागि आएकासमेत थपिँदा दुई प्रहरीलाई काममा दबाब परेको देखिन्थ्यो । जनशक्ति र प्रविधिको अभावका बीच नै प्रहरीले यसरी प्रविधिमार्फत ट्राफिक नियम उल्लङ्घनविरुद्ध कारवाही अभियान तीव्र पारेको छ ।

पहिले सडकमा बसेका ट्राफिकको आँखा छलेपछि कारवाहीबाट पार पाइन्थ्यो तर अब आँखा छल्दैमा सुख पाइँदैन । हरेक व्यक्तिको सडकमै अभिलेख रहनेगरी अनुगमन भइरहेकाले काठमाडौँ उपत्यकाको मुख्य सडकमा प्रहरीको आँखा छलेर गरेको गल्तीमा समेत कारवाही भोग्नुपर्नेछ । प्रहरीको आँखा छल्दैमा प्रविधिको आँखा छल्न कहाँ सकिन्छ । 

“होइन, गरेकै छैन भन्दै धेरै आउँछन्, झगडा गर्छन्, तर क्यामराको फुटेज देखेपछि चुप लाग्छन्”, नियन्त्रण कक्षका एक ट्राफिक प्रहरीले अनुभव सुनाउनुभयो । उपत्यकाको मुख्यमुख्य क्षेत्रमा ५१४ सिसी क्यामरा सञ्चालनमा छ । क्यामराको नियन्त्रक कक्ष महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ । जडान गरिएकामध्ये १५१ सिसी क्यामरा ट्राफिक प्रहरी महाशाखाले नै हेर्न सक्छ । 

प्रहरीले त्यही सिसी क्यामराले खिचेको श्रव्यदृष्यबाट नियम मिच्ने सवारीको नम्बर लिएर यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिन्छ । त्यसपछि प्रहरीले टेलिफोन गरी सम्बन्धित गाडी धनीलाई महाशाखामा बोलाउँछ । “तीन पटकसम्म उनीहरुलाई फोनमार्फत बोलाइन्छ, नआए पत्राचार गरिन्छ, त्यसपछि पनि नआए नियन्त्रणमा लिएर प्रमाणसहित कारवाही गर्छौं”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले भन्नुभयो । पछिल्लो तीन महीनादेखि यो क्रमलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । मानवीयरूपमा मात्रै ट्राफिक व्यवस्थापन चुस्त नहुने देखेर प्रविधियुक्त व्यवस्थापनमा प्रहरी लागेको छ । 

ब्रेथ एनालाइजरको प्रयोग गरेर मापसे नियन्त्रण अभियान जारी छ । गोब्रो क्यामरा, सर्भिलेन्स भेइकलका माध्यामबाट नम्बरप्लेटको आधारमा पहिचान गरी कारवाही गर्ने प्रक्रियासमेत चलिरहेको प्रमुख पन्तले बताउनुभयो ।

प्रहरीले फोन गरेर बोलाएकै आधारमा जेठ महीनामा मात्रै १५० लाई कारवाही गरेको छ । सिसी क्यामराको आधारमा तत्कालै पिछा गर्दा स्थलगतरुपमै भेटेर कारवाही गरेको सङ्ख्या ८५६ रहेको छ । सर्भिलेन्स भेइकलमा प्रयोग गरेको सिसी क्यामराबाट ३९ कारवाही परेका छन् ।  चालू आर्थिक वर्षमा सिसी क्यामराबाट प्राप्त दृश्यको आधारमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल सात हजार १०६ कारवाही परिसकेका छन् ।

महाशाखा प्रमुख पन्तका अनुसार ट्राफिक व्यवस्थापनमा हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । सडक, सवारी र ट्राफिक नियमका बारेमा व्यक्ति कमै जानकर छन् । सचेतनाको अभावमा समस्या बढ्दो छ । “सडकमा कसरी हिँड्ने, कहाँ र कसरी पार्क गर्ने, कसरी दायाँ¬बायाँ जाने, व्यक्ति धेरैलाई थाहै छैन, अलीअली जानेकाहरु छल्न खोज्छन्, अझै ठूलो समस्या भनेको हरेक मान्छे सडकबाटै पार गर्छन्, जसले दुर्घटनालाई निम्त्याइरहेको छ”, पन्तले थप्नुभयो । 

अहिले ट्राफिक प्रहरीले ओभरहेड ब्रिज बनाउन र सिग्नल बनाइदिन सडक विभागलाई लेखेर पठाएको छ । साँच्चै नै काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्ने नै हो भने ठूला सवारी साधन भित्र्याएर सानालाई मुख्य सडकमा रोक्नुपर्ने प्रहरीको निष्कर्ष छ । 

काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य सडकमा ट्राफिक नदेखेपछि जथाभावी गाडी दौडाउँदा दुर्घटनाको जोखिम भएपछि सिसीटिभीको श्रव्यदृश्यका आधारमा कारवाही थालिएको बताउनुहुन्छ । 

“ट्राफिक नभएका बेलामा बढी लापरवाही भो, त्यसैले हामीले अहिले काठमाडौँमा टेक्नोलोजी प्रयोगलाई बढाएका छौँ, योक्रम काठमाडौँसहित भक्तपुर र ललितपुरमा पनि चल्दै छ”, उहाँले भन्नुभयो । 

नेपालमा प्रहरीको सङ्ख्या न्यून छ । हरेक ठाउँमा प्रहरीले निगरानी गर्न सक्दैन । त्यसैले प्रविधि प्रयोगमा प्रहरीले ध्यान केन्द्रित गरेको हो । जिल्लास्तरमा समेत सक्दो प्रविधिको प्रयोग गर्न सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अगाडि प्रहरी देखे मात्रै सतर्क हुने तर प्रहरी नदेखे लापरवाहीपूर्ण तरिकाले गाडी चलाउँदा हुने दुर्घटना रोक्न यो अभियान महत्वपूर्ण हुने प्राध्यापक नरेन्द्र ठगुन्नाको भनाइ छ । यस्ता कार्यक्रम प्रभावकारीरुपमा लैजानुपर्नेमा उहाँको जोड छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!