महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

Posted on: 26 Nov, 2018

मङ्सिर १०, ललितपुर | देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ । 

महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र(ओरेक)ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्वर २५(महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवातको दिन) पारेर पुस्तक सार्वजनिक गर्दै आएको ओरेकले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको कार्यक्रममा हिंसाका घटना र उजुरी दुबै बढेको उल्लेख गरेको छ । 

आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय निकायमा महिला प्रतिनिधित्व बढ्नु महिला हिंसा न्यूनीकरणका लागि सम्भावनाका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वडामा निर्वाचित भएका महिला सदस्यमार्फत हिंसा न्यूनीकरण गर्न सकिन्छ ।” 

आयोगले न्यायिक समितिका पदाधिकारीलाई तालीम दिइरहेको उहाँले बताउनुभयो । 

अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राइले हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै तह लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निकाय र अधिकारकर्मीसँग सहकार्य बढाउन हामी चाहन्छौं ।” 

पत्रकार टङ्क पन्तले पछिल्ला वर्षमा मिडियाले महिला हिंसाका घटनालाई प्राथमिकता दिइरहेको बताउनुभयो । ओरेककी केन्द्रिय सदस्य दुर्गा कार्कीले नेपाल प्रहरीले महिला हिंसासम्बन्धी तथ्याङ्क व्यवस्थित गर्नुपर्ने औंलाउनुभयो । 

- रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!