कैलाश मानसरोवर पुग्ने पर्यटक भित्राउन सुर्खेत–हुम्ला हवाई उडान सञ्चालन गरिने

Posted on: 10 May, 2018

वैशाख २७, सुर्खेत | कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ गरेसंगै बाह्य पर्यटक भित्राउने गृहकार्यमा जुटेको छ । यो वर्षमा मात्रै पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउन लक्ष्यका साथ पर्यटन वर्ष शुरुवात गरेको सरकारले मानसरोवर पुग्ने भारतीय तिर्थालुहरुलाई सुर्खेत उतार्ने गृहकार्य थालेको हो ।

केन्द्रीय राजधानीसंग नियमित हवाई उडान जोडिएसंगै हुम्लाको हिल्सा नाका भएर मानसरोवर पुग्ने भारतीय तिर्थालुहरुलाई सुर्खेत भएर हुम्ला पुग्न सुर्खेत–हवाई उडान सेवा सञ्चालन गर्न लागेको छ । सरकारले मानसरोवर जाने तिर्थालुहरुलाई एक दिन सुर्खेतमा राखेर दोस्रो दिन हुम्लाको सिमिकोट पु¥याउन गरी सुर्खेत–हुम्ला हवाई उडान गर्ने योजनामा रहेको सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलले जानकारी दिए । ‘उड्यन हेर्ने जिम्मा केन्द्रीय सरकारलाई भएकाले सुर्खेत–हुम्ला उडान कसरी नियमति गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीय सरकार सकरात्मक छ’ रावलले भने,–‘काठमाडौं–सुर्खेत नियमित उडान भएसंगै सुर्खेत–हुम्ला नियमित उडान गर्ने योजनामा लागिसकेका छौं ।’ गत चैत्र ३० गतेबाट बुद्ध एयर र हप्ताको एक पटक नेपाल वायु सेवा निगमले उडान शुरु गरिसकेका छन् ।

आगामी जेठ दोस्रो हप्तादेखी तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने सिजन शुरु हुन्छ । यो सिजनमा मात्रै नेपाल हुँदै तिब्बत जाने भारतीय पर्यटकको संख्यामा हरेक वर्ष वढोत्तरी हुँदै गएको छ । कैलाश मानसरोवर जाने सिन्धुपाल्चोकको तातोपानी नाका चीनले बन्द गरेपछि पछिल्ला वर्ष भारतीय पर्यटकहरु नेपालगञ्ज–सिमिकोट–हिल्साहुँदै तिब्बत जाने गरेका छन् । ‘विगतमा सुर्खेत–काठमाडौं नियमित उडान थिएन’ सामाजिक विकास मन्त्री रावलले भने,–‘यो वर्ष सिँधै हवाई कनेक्टीभिटी जोडिएकाले नेपालगञ्ज पुग्ने पर्यटकलाई सुर्खेतमा ल्याएर सिमिकोट पु¥याउन सके बाह्य पर्यटकको चाप कर्णाली प्रदेशमा बढ्छ ।’ भारतको उत्तर प्रदेश सरकारले कैलाश मानसरोवर जाने भारतीय तिर्थालुहरुलाई अनुदान समेत दिने घोषणा गरिसकेको छ । विगतका वर्षभन्दा यो वर्ष भारतीय पर्यटकहरुको चाप बढ्ने भएकाले सुर्खेत–हुम्ला उडानलाई नियमित गर्न सबै तहमा पहली प्रयास भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए । बाह्य र आन्तरिक पर्यटक भित्राउने उदेश्य अनुरुप पर्यटन वर्षको शुरुवात गरिएकाले यो विषयमा पनि आफूहरु गम्भीर रहेको सिंहको  भनाई छ ।

नेपाललगञ्ज आएका भारतीय तिर्थालुहरु नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमिकोट पुग्ने गरेका छन् । सुर्खेतबाट नियमित उडान नहुँदा नेपालगन्ज हुँदै हुम्लाको सीमकोटसम्म पुर्याउन नेपाल एअरलाइन्स, तारा, गोमा, सिम्रिक, मकालु र एअर काष्ठमण्डपले उडान भर्ने गरेका छन् । सिमिकोटदेखी तिब्बती सीमा हिल्सासम्म तीर्थयात्रु ओसार्न हेलिकप्टर चढ्नु पर्छ । वर्षेनी भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक, उत्तरप्रदेश र तामिलनाडुका धेरै पर्यटक कैलाश मानसरोवर जान नेपालगन्ज आउने गर्छन् । पछिल्ला वर्षको तथ्याङ्कअनुसार एक वर्षमा सरदर पाँच हजार भारतीय पर्यटक नेपालगन्ज हुँदै मानसरोवर पुग्ने गरेका छन् । तर गत वर्ष मात्रै त्यो संख्या बढेर करिब १५ हजार पुगेको थियो ।

सुर्खेत–दिल्ली बस सेवा शुरु हुँदै

यता, मध्यपश्चिम बस व्यवसायी समितिले अन्तर्राष्ट्रिय स्तरमा बस सेवा सञ्चालन गर्ने भएको छ । समितिले पहिलोपटक सुर्खेतदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा रारा एसि बस सेवा सञ्चालन गर्न थालेको हो ।

आगामी जेठ १८ गतेबाट सुर्खेतदेखि भारतको नयाँदिल्लीसम्मका लागि बस सञ्चालन हुने समितिका सचिब नारायण चपाईले जानकारी दिए । समितिले हप्ताको २ दिन आईतवार र बुधबार सुर्खेतबाट  भारतको दिल्लीका लागि बस छुटाउने छ । तर भारतको दिल्लीबाट भने मंगलबार र शुक्रबार बस छुट्ने चपाईँले बताए । यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहजरुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गर्न थालेको उनको भनाई छ । सुर्खेतदेखि रुपैडिया, बरेली, गाजियाबाद हुँदै भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली रु.दुई हजार चार सय रुपैयाँ भाडा तोकिएको ब्यबसायी दुर्गा ज्ञावलीले जानकारी दिए । पहिलोपटक रारा एसि  बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने ज्ञावलीको भनाई छ । समितिले कर्णाली प्रदेशका हुम्ला र डोल्पा बाहेक अन्य सबै जिल्लाहरुमा बस छुटाउँदै आएको छ । वीरेन्द्रनगरदेखी काठमाडौँ ,पूर्वी नेपालको काँकडभिट्टा, विराटनगर, पोखरा, महेन्द्रनगरसम्म बस सेवा सञ्चालन गरिरहेका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!