ढाकाबाट छुटेको यात्रुबाहक बस नेपाल प्रवेश

Posted on: 25 Apr, 2018

वैशाख १२ काँकडभिट्टा | नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । 


बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन् । 

मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैनलगायतले मेची पुलमै पुगेर बसमा आएका बंगलादेश र भारतका उच्च अधिकारीलाई स्वागत गर्नुभएको छ । 

चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी ती देशबीच हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्रु बोकेर परीक्षण सेवाका लागि बस आएका हुन् । 

बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयनको नेतृत्वमा ८० जनाको टोली रहेको छ । टोलीमा नेपाली सदस्यको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर गोविन्दप्रसाद खरेलले गर्नुभएको छ । 

यसैगरी भारतीय टोलीको नेतृत्व भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मञ्जलले गर्नुभएको छ । ढाकाबाट बस चढेर आउनुभएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको हलमा स्वागत गरिएको थियो । 

काँकडभिट्टामा केहीबेर अध्यागमनसम्बन्धी प्रक्रिया पूरा गरी टोली ती बससँगै काठमाडौँतर्फ प्रस्थान गरेको छ । आज साँझ चितवनको सौराहामा टोलीले बास बस्ने र त्यहाँ नेपाल सरकारको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिने बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!