रामेछापको पकरबासमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना

Posted on: 25 Mar, 2018

प्रज्वल पौडेल । चैत्र ११, रामेछाप ।

रामेछापको खाडादेवी गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएको छ । आइतबार पकरबास पौवाडाँडामा गाउँपालिकाकि उपप्रमुख मखमली श्रेष्ठले एक कार्यक्रमका वीच सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन गर्नुभएको हो ।


कार्यक्रमलाइ सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले स्वास्थ्य सेवाको पहुँच बढाउनका लागि स्थापना गरिएकाले सामुदायिक स्वास्थ्य ईकाइ प्रभावकारी हुने बताउनुभयो । श्रेष्ठले सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । 

मनपा स्वास्थ्य शाखा प्रमुख केशबराज फूयाँलले सामुदायिक स्वास्थ्य एकाइ स्वास्थ्य चौकीको सानो रुप भएको बताउनुभयो । ठूलो र विकट भूगोल भएका कारण साविकका स्वास्थ्य संस्थामा सबैको पहुँच थिएन यस इकाइको स्थापनाले स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित हुनु नपर्ने धारणा राख्नु भयो । 

संघीयता सँगै स्थानीय तह निर्माणको क्रममा साविकको स्वास्थ्य चौकी अर्को वडामा परेपछि स्थापनाका लागी पहल भएको थियो ।  सरकारले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना गर्दै आएको छ । यस्ता एकाइहरु साविकमा रहेका स्वास्थ्य संस्थामा आउन टाढा हुने र ठूलो भूगोलमा बसोबास गर्ने सर्वसाधारणलाई लाभदायी बन्ने गरेको छ । स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि वडाका स्थानीय बासिन्दा हर्षित भएको स्थानीय रामहरी कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष धनबहादुर मानन्धर , स्वास्थ्य स्वयमसेविका लगाएत स्थानीयको सहभागिता रहेको थियो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!