कर्णाली राजमार्ग दुर्घटना रोक्न सेफ्टी बार

Posted on: 10 Nov, 2017

कात्तिक २४, कालिकोट । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा दुर्घटना रोक्न लगाइएको फलामे ‘सेफ्टी बार’ले यात्रु सुरक्षित महसुस गर्न थालेका छन् । अप्ठ्यारो र भिरालो ठाउँमा फलामे बार लगाइएपछि दुर्घटनामा कमी आएको सडक विभागले जनाएको छ ।

विगतमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालिकोटको सेरावाडा, टिमुरे, ताडी भीर, बिहानी, हुल्म जीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा सेफ्टी बार हालिएको छ । अन्य पनि धमाधम काम भइरहेको छ । 

बार लगाउन खाल्डो खन्ने, गिटी, बालुवा जम्मा गर्ने, पिलर गाड्ने र बार कस्ने काम अन्तिम चरणमा पुगेको छ । अहिले पनि दैनिक १ सय ३० जना कामदार दैलेख, कालिकोट र जुम्लामा खटिइरहेका छन् ।

बार लगाइएपछि सुरक्षित महसुस हुने गरेको मान्मस्थित हाम्रो स्टेसनरीको बोलेरो जीप चालक सीताराम अधिकारीले सुनाए । ‘बारले स्पिडमा हुइँकिने हेभी गाडी रोक्न नसके पनि सानातिना दुर्घटना रोक्न सहयोग पुर्याएको छ,’ उनले भने ।

२ सय ३३ किमि लामो राजमार्गका अप्ठ्यारो र भीर भएको खण्डमा फलामे बार लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलवहादुर भुजेलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!