बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने खतरा बढ्यो

Posted on: 30 Oct, 2017

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने र लोकतन्त्र खतरामा पर्न थालेपछि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन् । 

कालिकोटमा लोकतान्त्रिक गठबन्धनका दलहरुले सोमबार गरेको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् । 

पत्रकार सम्मेलनमा लोकतान्त्रिक गठबन्धनले कालीकोटमा प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा आफुहरुले जित्ने दावी गरेका छन् । गठबन्धनमा आबद्ध दलहरुले बामपन्थीहरुले देशका एक तन्त्रीय शासन व्यवस्था लाद्न खोजेकाले लोकतान्त्रिक गठबन्धन दलहरुले जित्ने दाबी गरेका हुन् । 


कुनै पनि दलहरुले सधै जित्न नसक्ने र विगतको परिमाणलाई अहिलेको निर्वाचनलाई हेर्न नहुने लोकतान्त्रिक गठबन्धन दलबाट प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्रजंग शाहीले  बताए । 

‘अघिल्लो स्थानीय तहको निर्वाचनको मत परिमाणलाई आधार बनाएर अहिले पनि बामपन्थी दलहरुले जित्छन भन्ने भ्रण रहेको छ’ उनले भने, ‘सधै निर्वाचनमा एउटै परिमाण आउने भए निर्वाचनको आवश्यकता किन प¥यो ?’ शाहीले एमाले र माओवादीबीच भएको गठबन्धन ले उनीहरुमा खैलाबैला आएको र त्यो गठबन्धन नभएर गडबढ मात्र भएको बताए । ‘बामपन्थी दलहरुको यो गठबन्धन हैन्’ उनले भने, ‘यो गडबढ मात्र हो ।’

सम्मेलनमा राप्रपा नेपालका केन्द्रीय सदस्य दीपबहादुर शाहीले लोकतन्त्र धरापमा पर्न लागेका कारणले लोकतन्त्रवादीहरुले एक भएको बताए । ‘देशमा लोकतन्त्र खतरामा पर्दैछ’ उनले भने, ‘त्यसैले अहिलेको आवश्यकता भनेको लोकतन्त्रवादी एक हुनुको विकल्प छैन् ।’ 

एउटा चुनाव जित्दै र भ्रममा छर्दैमा देशको विकास नहुने राप्रपाका केन्द्रीय सदस्य धनबहादुर बुढाले बताए । ‘माओवादीले जनयुद्धमा सयौं सहिद    बनायो ।’ उनले भने,

‘के देशमा जनवाद नै आयो त ?’

बुढाले भ्रम र सपना बाड्दैमा जनतालाई भ्रम दिन सकिन्छ तर त्यो कहिल्यै पुरा नहुने बताए । ‘बामपन्थीहरु बुन्दुकको नालबाट सत्ता कब्जा गर्न चाहन्थे’ उनले भने, ‘तर, सकेनन् अहिले वैधानिक रुपमा सत्ता कब्जा गर्ने सपना देखेका छन् ।’ केन्द्रमा प्रचण्ड र ओलीका कारणले गठबन्धन बनेको भए पनि जिल्लामा तहमा उनीहरु कहिल्यै मिल्न नसक्ने, जनतामा त्यो कुरा झनै नमिल्ने प्रदेशसभा ‘ख’ उम्मेदवार कालीबहादुर सहकारीले बताए । 

‘केन्द्रमा ओली प्रचण्ड मिलेका छन्’ उनले भने, ‘केन्द्रमा मिलेपनि कालिकोटमा एमाले र माओवादी कहिल्यै मिल्न सक्दैनन् ।’ नेपाली कांग्रेसका पार्टी सभापति हर्षबहादुर बमले अहिलेको समयमा लोकतन्त्र खतरामा पर्ने बेला आएको त्यसको रक्षाका लागि अहिले लोकतान्त्रिक गठबन्धन आवश्यकता रहेको बताए । ‘कालिकोटमा माओवादीले आलु खाने समय आएको छ’ उनले भने, ‘अब देशमा लोकतन्त्र खतरा परेको बेला लोकतन्त्रले मात्र देशलाई बचाउन सक्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!